२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिकाको लक्ष्मी मार्ग सडक खण्ड अन्तर्गत हनुमान चोक देखि सिमलबाडीसम्मको ७ किलोमिटर बाटो बनाउने क्रममा भ्रष्टाचार गरेको अभियोगमा ११ जना विरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले गाउँपालिका तत्कालीन अध्यक्ष जय नारायण साह, उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख शासकीय अधिकृत, चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सवइन्जिनियर विज्ञान चम्लागाँईसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिकाबाट विनियोजित रकमबाट गाउँपालिका वडा नं ३,६ र ७ भित्र पर्ने ‘लक्ष्मी मार्ग बाटो उच्चस्तरीय ग्राभेल’ आयोजनमा भए गरेको कामभन्दा २२ लाख बढी भुक्तानी दिएको अनुसन्धानबाट पाइएको आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले जानकारी दिए।
आयोगले लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल र कोषाध्यक्ष शान्ता देवी सुव्वा (राई) भन्ने शन्तमाया सुव्वा लिम्बूले नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कामहरु नगरी झुठा बिल भरपाइका आधारमा भुक्तानी लिएको आयोगको दाबी छ।
त्यस्तै वडा नं ६ का तत्कालीन वडाध्यक्ष हरि बहादुर वानिया, वडा नं ७ का अध्यक्ष नेत्र प्रसाद उप्रेती र वडा नं ३ का वडाध्यक्ष मोति लाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहे पनि उनीहरुले आयोजना गुणस्तर कायम गरेर सम्पन्न भएको प्रतिवेदन दिएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij