२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्दै मुलुकको आगामी प्रधानमन्त्री नियुक्तिका लागि मार्गप्रशस्त गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको विद्यमान विधानमा रहेको संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्थालाई संशोधन गरी शाहका लागि बालुवाटारको यात्रा सहज बनाउन रास्वपा लागिपरेको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित स्पष्ट बहुमत पाएको रास्वपामा संसदीय दलको नेता चयन हुनासाथ शाहलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक सुनिश्चितता छ । पार्टीस्रोतका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच गत पुस १३ गते भएको सहमतिअनुसार नै यो प्रक्रिया अघि बढेको हो । उक्त सहमतिमा लामिछाने पार्टी सभापति रहने र शाह संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख थियो ।
हाल अस्वस्थताका कारण शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका सभापति लामिछानेले अस्पतालकै बेडबाट सरकार गठन र विधान संशोधनका विषयमा शाह र अन्य शीर्ष नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले आराम गर्न सुझाए पनि लामिछाने राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि सक्रिय छन् ।
शनिबारसम्म विधान संशोधन र उम्मेदवार चयन
रास्वपाका नेता शिशिर खनालले पार्टीको शीर्ष नेतृत्वको परामर्शमा सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएर विधान संशोधनको प्रक्रिया पूरा गरिने जानकारी दिए । ‘विधानको पुरानो व्यवस्था व्यावहारिक नभएकाले त्यसलाई संशोधन गरी सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने तयारी छ,’ खनालले भने ।
पार्टी सहप्रवक्ता प्रतिभा रावलले पनि बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेरै निर्वाचनमा होमिएको स्पष्ट पार्दै आवश्यक प्रक्रिया मिलाएर उनी नै संसदीय दलको नेता बन्ने बताइन् । रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नाम टुंगो लगाउन र विधान संशोधनको निर्णय शनिबारसम्ममा गरिसक्ने लक्ष्य राखेको छ ।
निर्वाचन आयोगले चैत पहिलो साताभित्र समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने र राष्ट्रपतिसमक्ष अन्तिम प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । आयोगबाट सांसदहरूले प्रमाणपत्र पाएसँगै रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको औपचारिक जानकारी राष्ट्रपतिलाई गराउनेछ । त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम बहुमतप्राप्त दलको नेताका हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।
नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद्को आकार सानो र छरितो बनाउने विषयमा पनि रास्वपाभित्र प्रारम्भिक छलफल सुरु भइसकेको छ । शाहनिकट स्रोतका अनुसार अहिले नै मन्त्रीहरूको नाममा प्रवेश नगरे पनि विज्ञता र कार्यक्षमताका आधारमा सानो मन्त्रिपरिषद् बनाउने योजना छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij