२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौँ । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा यस बर्ष खेतीयोग्य जमिनमध्ये देशभर २७ प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मुलुकभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । सो क्षेत्रफलमध्ये असार २१ सम्म २६.७१ प्रतिशत अर्थात् ३ लाख ६२ हजार ६ सय २५ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
गत बर्ष यही अवधिको तुलनामा रोपाइँ करिब १३ प्रतिशत विन्दुले कमी हो । पोहोर २०७९ असार २१ सम्म ४०.०४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जानकारी दिए ।
‘मधेश, गण्डकी, लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलाइ हुँदा गत वर्षको यसै अवधिको तुलनामा करिब १३ प्रतिशत विन्दुले रोपाइ कमी भएको छ,’ मन्त्रालयको अनुसार, ‘मनसुन सुरु हुने क्रमसँगै रोपाइँ हुने क्षेत्रफल बढ्दो क्रममा छ ।’
प्रतिशतको हिसाबमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४८.९७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि क्रमश: कर्णाली प्रदेशमा ४५, कोशीमा ३६.६७, वागमतीमा ३०.७८, लुम्बिनीमा २४.४३ प्रतिशत रोपाइ भएको छ । गण्डकीमा १७.५५ प्रतिशत र मधेशमा सबैभन्दा ९.५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
श्रावण १५ सम्म सामान्य हिसावले ती प्रदेशमा रोपाइ हुने भएकोले हालसम्म मन्त्रालयले विगत वर्षहरुमा जस्तै लगभग शतप्रतिशत रोपाइ हुने प्रारम्भिक अनुमान रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij