२०८२ कार्तिक ३० गते आइतवार
पोखरा । गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत् पुर्याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच छलफल भएको छ ।
शुक्रबार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताए ।
गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत् पुगिसकेकाले बाँकी घरमा विद्युतिकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए ।
ग्रिड लाइन, लघु जलविद्युत र शौर्य ऊर्जा बाट पनि विद्युतिकरण भएको बताउँदै उनले सकेसम्म सबै ठाउँमा ग्रिडलाईन बिस्तार गर्ने गरी अघि बढ्नुपर्ने बताए ।
उक्त छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पुर्याउन दुर्गम ठाउँहरूमा लघु जलविद्युत, शौर्य ऊर्जा पनि प्रभावकारी हुने बताए । साथै उनले प्राधिकरणले ग्रिड लाइनबाट विद्युत् पुर्याउने गरि काम अघि बढाइरहेको जानकारी गराए ।
उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सब स्टेसनहरू निर्माण, ग्रिड लाइन बिस्तारको काम अघि बढिरहेको घिसिङले मुख्यमन्त्रीलाई जानकारी गराए ।
पछिल्लो केही समय यता विद्युत् छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो गर्ने गरेको, उद्योग, व्यापार व्यवसायमा समस्या भएकाले समाधान तर्फ ध्यान दिन मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।
राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको बूढी गण्डकी जलविद्युत आयोजना निर्माणका बारेमा पनि मुख्यमन्त्री पाण्डेले चासो लिएका थिए ।
कार्यकारी निर्देशक घिसिङले बूढी गण्डकी आयोजना नेपालका लागि आवश्यक र गौरवको परियोजना भएकाले छिटो निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने र त्यस्तो हुन नसकेको बताए । साथै उनले प्रक्रिया भने अघि बढिरहेको जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij