२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेपालको अग्रणी शैक्षिक संस्था संस्कृति इन्टरनेशनल स्कुलले आफ्नो प्राङ्गण हल्चोक, काठमाडौंमा नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, “इन्फिनिटी फ्याबल्याब” (फ्याब्रिकेशन ल्याबोरेटरीज) को भव्य उद्घाटन गरेको छ ।
उद्घाटन समारोहमा थ्रीडीआई स्कूल, न्यूजील्याण्डका अक्याडेमिक डिरेक्टर डा. क्रेग ह्यान्सनको उपस्थिति रहेको थियो । उनले प्रयोगशालाको स्थापनालाई देशको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण कदमको रूपमा उल्लेख गरे । उद्घाटन लगत्तै नयाँ फ्याब ल्याबको प्रदर्शनी भ्रमण कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सरकारी अधिकारीहरु लगायत विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथिका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिला देवी बज्राचार्यको उपस्थिति रहेको थियो भने वडा नं. १५ की शिक्षा विभाग प्रमुख मैया लक्ष्मी महर्जन र गीता माता स्रोत केन्द्र, वडा नं. १५ की स्रोत व्यक्ति डा.शर्मिला पोखरेलको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय (केयू) का विद्यालयका प्रमुखहरु तथा अभिभावक प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । संस्कृति इन्टरनेशनल स्कूलकी निर्देशिका सुश्री दिप्ती आचार्यले भने, “संस्कृति इन्टरनेशनल स्कूलले यो स्तरको पहिलो फ्याब ल्याब खोल्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।
यो प्रयोगशालाको स्थापनाले नयाँ प्रविधिलाई बढावा दिन र विद्यार्थीहरूलाई अत्याधुनिक सिकाइ अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा महत्वपूर्ण भूमिका खेलेको छ । हामीले अत्याधुनिक प्रविधि र उपकरणहरूले सुसज्जित नविनतम प्रयोगशाला स्थापना गरेका छौँ, जहाँ विद्यार्थीहरूले डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स र अन्य धेरै कुराहरू एक्सप्लोर गर्न सक्छन् । फ्याब ल्याबले रचनात्मक प्रविधिको हबको रूपमा काम गर्नेछ र हाम्रा विद्यार्थीहरूलाई आफ्नो पूर्ण क्षमता उजागर गर्न, आवश्यक सीपहरू विकास गर्न र नयाँ आविष्कारको लागि प्रेरित गर्न सक्षम बनाउँछ ।”
फ्याब ल्याब अर्थात् फ्याब्रिकेशन ल्याबोरेटरीज यस्तो अत्याधुनिक प्रयोगशाला हो, जसले विद्यार्थीहरूलाई डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स, र अन्य धेरै क्षेत्रहरूको बारेमा विस्तिृत रुपमा बुझ्न उपकरण र प्रविधिहरूमा पहुँच प्रदान गर्दछ ।
नयाँ फ्याब ल्याबको स्थापनासँगै संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई ह्यान्ड्स–अन, इण्टर्डिसिप्लिनरि लर्निङ्गको अनुभवका साथै, सृजनात्मक, नवीनतम र समस्या समाधान गर्ने सीपहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij