२०८२ कार्तिक ३० गते आइतवार
विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी कोशी अस्पतालमा जनरल बेड मंगलबारदेखि नि : शुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघीय सरकार मातहत रहेको कोशी अस्पतालको ३३० बेड सर्वसाधारणका लागि नि : शुल्क गर्ने निर्णय भएको बताएका हुन् ।
अस्पतालको मंगलबार निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले कोशी अस्पतालले गरिबका लागि भन्दै जनरल बेड नि : शुल्क गरिएको बताए । यसअघि प्रतिबेड १०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि बिरामीले बेडका लागि पैसा तिर्नु नपर्ने मन्त्री बस्नेतले बताए ।
यसअघि वीर अस्पतालको ७ सय बेड नि : शुल्क गर्ने निर्णय भएको छ । यसरी क्रमश : सङ्घीय मातहतको अस्पतालको जनरल बेड नि:शुल्क गरिने मन्त्री बस्नेतले बताए । ‘यसअघि मैले वीर अस्पतालको ७०० बेड नि:शुल्क गर्न निर्देशन दिएको छु । लागू पनि भएको छ । कोशी अस्पतालको पनि जनरल बेड नि:शुल्क भएको छ,’ मन्त्री बस्नेतले भने, ‘यहाँ पनि मंगलबारदेखि लागू हुनेछ ।’
बेड नि:शुल्क गर्दा अस्पताललाई आम्दानी रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए । मन्त्रीले निर्देशन दिएपछि जेनेरल बेडमा भर्ना भएका बिरामीको मंगलबारदेखि जनरल बेड नि:शुल्क गरिएको कोशी अस्पतालका मेसु डा.रविराज सिंहले जानकारी दिए ।
‘कोशी अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । एक सय रुपैयाँ तिर्नका लागि उनीहरूलाई सहज हुँदैन,’ मेसु सिंहले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड नि:शुल्क गर्ने निर्णय भएको हो ।’
जनरल बेड नि:शुल्क भए पनि आइसियू र क्यानको शुल्क भने लाग्नेछ । कोशी अस्पताल ३५० शय्याको अस्पताल हो । यहाँ दैनिक ओपिडीमा १ हजार देखि १ हजार पाँच सय जना बिरामी आउने गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij