Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेसका नेता राणाले बालेनलाई भने-सधैंभरि पपुलिस्ट कुरा चल्दैन, ललितपुरमा सरसफाइ र हरियोपरियो तालिम लिन आउनू  

कांग्रेसका नेता राणाले बालेनलाई भने-सधैंभरि पपुलिस्ट कुरा चल्दैन, ललितपुरमा सरसफाइ र हरियोपरियो तालिम लिन आउनू  


  • 2.4K
    Shares

    कांग्रेसका नेता राणाले बालेनलाई भने-सधैंभरि पपुलिस्ट कुरा चल्दैन, ललितपुरमा सरसफाइ र हरियोपरियो तालिम लिन आउनू  

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले समाजवादी मोर्चा निर्माणले आफ्नो पार्टी नझस्किएको बताएका छन् ।

    ‘हाम्रा निम्ति समाजवादी मोर्चा कसरी चुनौती हुने ? किनभने त्यसमा गठबन्धनकै दलहरु नै छन् । त्यसले हामीलाई किन झड्का लाग्नुपर् यो ? मुलुकमा धेरै पार्टी भएर पनि राजनीतिक स्थिरतामा समस्या आएको हो । सानासाना पार्टीभन्दा ठूलो पार्टी हुनु उपयुक्त हो । 

    अब मोर्चा तेस्रो पार्टी हुन्छ, सरकार चलाउन सहज हुन्छ । यसमा हामी अत्तालिनुपर्ने केही देख्दिनँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

    समाजवादी मोर्चा निर्माणले गठबन्धन पनि बलियो हुने राणाले ठोकुवा गरे । उनले भने, ‘आज माओवादीले सरकार चलाएको छ, भोलि हाम्रो पार्टीबाट शेरबहादुर देउवाले सरकार चलाउने कुरा छ । पर्सि अर्कोले चलाउला । सात आठ वटा पार्टीसँग डिल गर्नुभन्दा दुईतीनवटा पार्टी मिलेर सरकार चलाउनु सहज हुन्छ र गठबन्धन बलियो हुन्छ । 

    कांग्रेस र मोर्चा मिलेपछि बहुमत पनि पुग्छ ।’पुष्पकमल दाहाल प्रचण्डले पाँचै वर्ष सरकार चलाउँछु भनिरहनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘प्रचण्डले कहाँ त्यसो भन्नुभएको छ र ? मैले त त्यस्तो सुनेको छैन । पाँच वर्ष चलाउन चाहनुहुन्छ भन्ने पनि उहाँलाई शुभकामना छ । तर अहिलेसम्मको सहमति आलोपालो सरकार चलाउने भन्ने नै हो । त्यो सहमति तोडिन्न भन्ने मलाई लाग्छ । तर नेपाली कांग्रेस धेरै ढिपी गर्दैन ।’

    कांग्रेसमा पार्टी फुटाउन भनेर कोही नलागेको दाबी पनि उनले गरे । राणाले भने, ‘हो, पार्टीमा एक किसिमको असन्तुष्टि छ । गुटउपगुट छ । यो जहिले पनि हुन्छ । नेतृत्वप्रति चित्त बुझेन भने हामी खुला रुपमा राख्न सक्छौं । कतिपय नेताहरु लक्ष्मणरेखा पार गरेर पनि जान्छन् । कतिपय साथीहरु रुपान्तरण अभियान भनेर लाग्नुभएको छ । कतिपयले नेतृत्व परिवर्तनको कुरा गर्नुभएको छ । त्यो सबै प्रक्रियामा टेकेर हुने कुरा हो ।’

    शेरबहादुर देउवा फर्केपछि केन्द्रीय समिति, नीति अधिवेशन, महासमितिको बैठक चाँडै राख्नुपर्ने राणाले औंल्याए । उनले भने, ‘केन्द्रीय समितिको बैठक बोलाउन ढिलो भएको छ। सबै कुरा पदाधिकारी वा सचिवालयको बैठकबाट चलाएर हुँदैन । शेरबहादुर देउवा फर्केपछि केन्द्रीय समिति, महासमिति बैठक बोलाउनुपर्छ भन्ने मेरो धारणा हो ।’

    आउने महाधिवेशनमा पार्टीभित्र नयाँ गठबन्धन बन्ने सम्भावना प्रबल रहे पनि देउवा र शेखर कोइरालाबीच समीकरण बनेको कुरा आफूलाई थाहा नभएको पनि राणाले बताए । उनले भने, देउवा र शेखर कोइराला भक्तपुर र चितवनको कार्यक्रममा सँगै मञ्चमा बसेकाले अनेक हल्ला चलेको छ । तर अहिले नै त्यस्तो समीकरण बन्यो भन्ने मलाई लाग्दैन । 

    शेखर कोइरालाले एउटै डुंगामा छौं, डुब्ने भनेको सँगसँगै हो भन्नुभएको उचित हो ।’ तर महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको धारणा अलि एग्रेसिभ भएको टिप्पणी पनि उनले गरे ।

    अर्को प्रसंगमा सांसद राणाले काठमाडौंका मेयर बालेन शाहलाई सधैंभरि पपुलिस्ट कुरा गरेर नबस्न आग्रह गरे । उनले भने, ‘सुरुको दुईचार महिना पपुलिस्ट कुरा गर्ने, उट्पट्याङ गर्ने, शैक्षिक मेला क्यान्सिल गराउने, सिनेमामा रोक लगाउने कुरा गर्नु ठीकै होला । तर जहिल्यै पपुलिस्ट कुरा गर्ने होइन । काठमाडौंको मुख्य समस्या खानेपानी र सरसफाइ हो । बालेनले ललितपुर महानगरपालिका र गोदावरी नगरपालिका आएर हेरे हुन्छ । हामी सरसफाइ र हरियोपरियो व्यवस्थापन तालिम दिन तयार छौं ।’

     

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १५:४८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij