२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैङ्कले मङ्गलबार सूचना जारी गर्दै सरकारले सार्वजनिक बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘ङ’ मार्फत ऋण उठाउने जानकारी दिएको हो ।
६ वर्ष लामो अवधिको सो ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धात्मक वा अप्रतिस्पर्धात्मक प्रणालीबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
२०८० असार ६ गते जारी हुने विकास ऋणपत्र आगामी २०८६ असार ६ गते परिपक्व हुने केन्द्रीय बैङ्कले जनाएको छ । लगानीकर्ताहरूले ऋणपत्रको ब्याजदर ६/६ महिना अर्थात् अर्धवार्षिक रूपमा प्राप्त गर्न सक्नेछन् । यो लामो समयका लागि सरकारले उठाउने आन्तरिक ऋण हो ।
त्यस्तै, सरकारले छोटो अवधिका लागि ७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण समेत उठाउँदै छ । असार ५ जारी गर्नेगरी केन्द्रीय बैङ्कले ९१ दिने र १८२ दिने दुई किसिमको ट्रेजरीमार्फत ७ अर्ब रुपैयाँ उठाउँने जानकारी दिएको हो ।
४ किसिममा कूल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैङ्कले २३ अर्ब ८६ करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । भोलि अर्थात् आसार ५ गते बिक्री हुने ट्रेजरीको आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij