काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको कारणले पार्टीको बैठक बस्न नसकेको आरोप लगाएका छन् ।काठमाडौँमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभाग गठन गर्न पनि चासो नदिएको बताए ।
महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा विभाग गठन भएको छ । विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ । अस्ति उहाँलाई मन लागेको थियो गर्दिनुभयो । अहिले उहाँलाई मन लागेको छैन गर्नुभएको छैन । कलम भित्र राख्नुभएको छ निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ । तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौँ ।’
उनले अहिले काँग्रेसले विश्वास गुमाएको टिप्पणी गरे । उनले भने, ‘भोट पाएको तर, विश्वास गुमाएको छ । भोट नपाएको भए त चुनाव कसरी जित्ने ? हामी अहिले ठूलो पार्टी छौँ, अस्तिमात्रै चुनाव जितेको । हामीले भोट पाएको अवस्था भएपछि त्यसको चिन्ता नगरौँ । अब विश्वासलाई पुनः स्थापित गर्यौँ भने भोट आफैँ आउँदो रहेछ । त्यसैले अब विश्वासको वातावरण बनाउने अहिलेको एकमात्रै सूत्र भनेको काँग्रेसलाई बदल्ने हो ।’
अहिलेको काँग्रेस पार्टी र नेतालाई जस्ताको तस्तै राखेर पार्टी नबन्ने थापाको भनाइ थियो ।
