२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपालमा सेमिनार गर्न आएका दुई जना विदेशीसँग २–२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । पोल्यान्डमा वर्किङ भिसामा कामदार लैजाने भन्दै त्यसका लागि सेमिनार गर्न काठमाडौँ आएका दुई जनालाई वैदेशिक रोजगार विभागले नियन्त्रणमा लिएको थियो।
धरौटी मागेर उनीहरूलाई रसियन दूतावासको जिम्मा लगाइएको विभागले जनाएको छ। थप अनुसन्धानको क्रममा केही खुलेमा कारबाही गरिने नत्र रिहा गरिने विभागका अनुसन्धान अधिकृत केदार अधिकारीले बताए।
पोल्यान्डमा लैजाने भन्दै काठमाडौँमा बिना अनुमति अभिमुखीकरण गर्ने दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएडोसिक पक्राउ परेका थिए। गत जेठ ६ गते शनिवार पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण गरिरहेको अवस्थामा प्रहरीको सहयोगमा विभागले नियन्त्रणमा लिएको थियो।
उनीहरूले पोल्यान्ड लैजाने भन्दै एक जना पीडितले विभागमा उजुरी दिन खोजेका थिए। पछि लगेको २ लाख रुपैयाँ फिर्ता गरेको भन्दै उजुरी दिनबाट पछि हटेका थिए। हालसम्म उनीहरू विरुद्ध कुनै ठोस प्रमाण फेला नपरेको भन्दै धरौटीमा रसियन दूतावासको जिम्मा लगाइएको अनुसन्धान अधिकृत अधिकारीले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij