२०८२ माघ १४ गते बुधवार
संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा बसिरहेको छ। समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो।
बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन्। संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा जारी
सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे। प्रधानन्यायधीश नियुक्तिलगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्बाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरी समितिले काम गर्ने विश्वास व्यक्त गरे। उनले सिफारिस भएर आएका व्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासालाई गम्भीरतापूर्वक लिन र दलको निर्देशनभन्दा पनि आफूले स्वतन्त्रपूर्वक निर्णय गर्न समितिका सदस्यलाई आग्रह गरे।
१५ सदस्यीय सुनुवाइ समितिले आइतबार पूर्णता पाएको हो। समितिमा नेपाली कांग्रेसका ५, नेकपा एमालेका ५, नेकपा माओवादी केन्द्रका २, रास्वपाका १, राप्रपाका १ र जसपा १ सांसदको प्रतिनिधित्व छ।
समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा छन्।
बाँकी १२ सदस्य प्रतिनिधिसभाबाट मनोनयन गरिएको छ। जसमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्। त्यस्तै, नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य छन्।
माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शमशेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij