२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रका बारेमा अनावश्यक भ्रम नछर्न आग्रह गरेका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुने कुरा साँचो नभएको भन्दै अर्थतन्त्रका बारेमा आतङ्कित पार्ने झुटो कुरा कसैले गर्न नहुने बताएका हुन् ।
प्रचण्डले अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातर्फ अघि बढ्ने सङ्केत प्राप्त भएकाले सरकारको कार्यक्रम र बजेट अर्थतन्त्रलाई लयमा ल्याउनेमा केन्द्रित गरिने बताए ।
प्रचण्डले अहिलेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको भन्दै यसको विरोध गर्नुपर्ने कुनै कारण नभएको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितको रक्षा गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने सर्वोपरि लक्ष्य हासिल गर्ने दृढ सङ्कल्पका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए।
आयात व्यवस्थापन र निर्यात प्रवर्द्धन, विकास निर्माण कार्यको निर्धारित लागत र समयमा सम्पादन, शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण एवं सामाजिक न्याय र शान्ति सुरक्षा कायम गर्ने विषयलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको उनले बताए ।
त्यस्तै उनले आफ्नो निकट भविष्यमा हुने भारत भ्रमणका क्रममा समकक्षीसँग भेट हुने र राष्ट्रिय हितका साथै नेपाल भारत सम्बन्धका समस्यामा बारेमा पनि प्रस्ट ढङ्गले कुरा गर्ने बताए । भ्रमणका क्रममा मल कारखाना स्थापना गर्ने विषयमा पनि कुराकानी हुने उनको भनाइ छ ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको अर्को जेठ १४ गते आइतबार बोलाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij