२०८२ भाद्र २ गते सोमवार
प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरूमा आँखा नपरेको बताएकी छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र सम्पदामा सरकारको आँखा नपुगेको बताएकी हुन् ।
तत्कालै पुनः निर्माण सम्पन्न हुने गरी आगामी आर्थिक वर्षमा बजेटमा रकम विनियोजन गर्न माग गरिन् । त्यसैगरी रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्व सम्पदा सूचीमा संलग्न गराउने विषय अगाडि बढाउन पनि उनले माग गरिन् ।
‘कला, संस्कृति, सम्पदाको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहर राज्यको आँखा परेनछ । आँखा परोस् पनि कसरी २०७२ सालको भूकम्पपछि पुनःनिर्माणको काम सकियो भनेर पुनः निर्माण प्राधिकरणसमेत विघटन भइसक्यो । तर, बुङ्गमतीको रातो मच्छिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दिर भने पुनः निर्माण कुर्दाकुर्दै जीर्ण भइसके,’ कार्कीले भनिन्, ‘सरकारकै हाम्रो सम्पदा राम्रो सम्पदा पर्यटन गन्तव्य विस्तार तथा पहिचान कार्यक्रमअन्तर्गत मन्दिरहरूलाई तत्कालै पुनः निर्माण सम्पन्न हुने गरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरियोस् र रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रबिसे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचीमा संलग्न गराउने राष्ट्र गौरवको विषयलाई अगाडि बढाइयोस् ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij