२०८२ भाद्र १ गते आइतवार
डाक्टरकोमा धाउँदा–धाउँदा हैरान । औषधी खाँदा–खाँदा वाक्क । एउटा व्यथा कम भएजस्तो हुन्छ, फेरि अर्को व्यथा बल्झिहाल्छ । हुन त डाक्टरको जाँच र औषधीपानले व्यथा सधैँका लागि च्वाट्टै हुने कुरो पनि होइन । मान्छे बिरामी नै हुन छाडे भने पाइलैपिच्छे खुलेका अस्पताल कसरी चल्ने ? त्यतिका डाक्टर, नर्स र स्वास्थ्यकर्मीले कसको नाडी छामेर आफ्नो हातमुख जोर्ने रु अस्पताल भरिभराउ भइराख्न र स्वास्थ्यकर्मीको नियमित घरखर्च चलिरहन पनि धेरैभन्दा धेरै बिरामी भइराख्नुपर्छ । थरीथरीका व्यथा बल्झिरहनुपर्छ । यो त सर्वमान्य कुरा भइहाल्यो ।
अब टिकटकको लत र व्यथा बिमार निको पार्छु भन्नेहरूको चर्तिकलाको चर्चा गरौँ । हिजोआज बिरामी पनि टिकटकमा । डाक्टर र नर्स पनि टिकटकमा । वैद्य र कविराज पनि टिकटकमा । धामी, झाँक्री, तान्त्रिक सबै टिकटकमा ।
टिकटकमा सबैभन्दा पहिले आफूजस्तै अर्को बिरामीले नै औषधीमुलो सिकाउँछ । यो खानु, त्यो नखानु, यसको पात खानु, त्यसको जरो निचोर्नु, अर्कोको बोक्रै कोपर्नु, ।।। के के हो के के । यही खाएर उसको गानोगोला, ग्यास्ट्रिक सबै ठिक भयो रे । उसलाई ठिक भएको कुरा सुनेपछि आफूलाई पनि होजस्तो लाग्छ । अनि मुख बिगार्दै तितो, टर्रो खायो । एकछिनलाई सन्चो भएजस्तो हुन्छ, फेरि अर्को व्यथाले छोइहाल्छ ।
अनि टिकटकमा योगगुरु र गुरुआमा देखिन्छन् । सुर न बेसुरसँग नाच्छन्, उफ्रन्छन्, ज्यान बटार्छन्, भुँडी हल्लाउँछन् । उनीहरूले भने र गरेजस्तो सकीनसकी हातखुट्टा, ज्यान मर्काउन खोज्यो, मरिगए हुँदैन । बल्लबल्ल बङ्ग्यायो, भोलिपल्टदेखि नदुखेको जोर्नी पनि खपिनसक्नु गरी दुख्छ । एउटा व्यथा ठिक होला कि भनेर ज्यान मर्काउँदा अर्को व्यथा बल्झन्छ ।
दुखेको ज्यान मुसार्दै टिकटक हेर्दै जाँदा चिनेजानेका डाक्टर देखिन्छन् । क्लिनिक नचलेरै त टिकटक चलाएका होलान् । नत्र क्लिनिकमा टन्न पैसा लिएर जाँच गर्नुको सट्टा सित्तैमा टिकटकबाट किन औषधीमुलो सिकाउँथे रु हुन त टिकटकबाट पनि पैसा कमाइन्छ भनेर कसैले भन्यो होला । पैसा नकमाए पनि चर्चा त कमाइएला । जे होस्, सरकारी अस्पतालमा सितिमिति नभेटिने डाक्टर टिकटकमा भेटिन्छन् । औषधीमुलो सिकाउँछन् । आफ्नो क्लिनिकमा आए भएजतिको सबै रोग, व्यथा च्वाट्टै पार्ने कसम खान्छन् ।
डाक्टरको औषधी र क्लिनिक सम्झन नपाउँदै टिकटकमा वैद्य र कविराज भेटिन्छन् । पञ्चकर्म र क्षारसूत्रको व्याख्या छाँट्छन् । सागमा बेसार नराख्नु, बेलुका दही नखानु भन्छन् । जे जे आफूलाई मिठो हुन्छ त्यो हेर्दै नहेर्नु रे, जे जे हेर्ने मन लाग्दैन त्यो त्यो चाहिँ खानु रे । व्यथा ठिक हुन्छ भनेपछि त गर्नैपर्यो । भनेअनुसार गर्दा व्यथा सन्चो भएजस्तो लाग्छ । तर सधैँ मिठो लाग्ने कुरा छुँदै नछुन र हेर्नै मन नलाग्ने कुरा खाइरहन कहाँ सकिन्छ र ?
अब मुख बारेर पत्तो लाग्दैन भन्दै टिकटक हेर्न थाल्दा धामी–झाँक्री, तान्त्रिक भेटिन्छन् । हेरेकै भरमा क्यान्सर निको ! छामेरै पायल्स गायब ! नाडी छाम्नेबित्तिकै प्यारालाइसिसको बिरामी जुरुक्कै ! अस्पतालको भेन्टिलेटरमा राखेको बिरामीलाई सकीनसकी झ्याइँकुटी पारेर धामी–झाँक्रीको पुर्याएका छन् । एम्बुलेन्समा सलाइन चढाउँदै समेत तान्त्रिककोमा दैलोमा सुताएका छन् । अस्पतालमा भन्दा झाँक्री र तान्त्रिककोमा भिड । आज लाइनमा उभिँदा पालो पाउन पर्सिसम्म कुर्नुपर्ने । बल्लबल्ल भेटेर उसको अनुहार देखेपछि व्यथा च्वाट्टै ! औषधी पनि नचाहिने १ तेल दलेको र पानी छर्केको भरमा रोग गायब !
‘गुरुले हेर्नेबित्तिकै हर्निया ठिक भयो ।’
‘गुरुले छुनेबित्तिकै पायल्स गायब भयो ।’
‘गुरुले हातमा तेल दलेपछि बोली फुट्यो ।’
‘गुरुले पानी छर्केपछि क्यान्सर निको भयो ।’
यसले, उसले, त्यसले ।।। धेरैले भनेपछि पत्याउनै पर्यो । पत्याउनेबित्तिकै व्यथा अलिअलि ठिक भएजस्तो लागिहाल्छ । अझ छामेरै ठिक पार्ने मान्छेलाई भेट्न पाइयो भने त पूरै सन्चो हुन्छ होला । त्यति धेरैलाई सन्चो भएको छ भनेपछि आफूलाई नहुने कुरै भएन । टिकटकमा भेटिनेजति धामी–झाँक्री, तान्त्रिक सबैलाई भेट्न पाइयो भने त अस्पताल जानै पर्दैन, डाक्टरको मुख नै हेर्न पर्दैन । सबै व्यथा सधैँका लागि च्वाट्टै !
हिजोआज टिकटक हेरेर तपाईँलाई पनि यस्तै आधाविश्वास र अन्धविश्वासले छोएको छ ? छ भने बेलैमा मानसिक समस्या जाँच गर्नुहोस्, टिकटकमा हैन अस्पतालमा ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij