Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अन्तस्करणमा बसेको मेरा पिक

अन्तस्करणमा बसेको मेरा पिक


  • 18.3K
    Shares

    अन्तस्करणमा बसेको मेरा पिक

     काठमाडौँबाट उडेको जहाजको पाङ्ग्राले लुक्ला विमास्थलको भुईं छुनेबित्तिकै कवाङ्दे पिकको स्निग्धता टल्किएथ्यो मेरो नजर र हृदयको क्षितिजमा । कवाङ्देले परावर्तन गरेको घामको किरणको उज्यालो लुक्लामा आइपुग्दा उज्यालिएथ्यो मेरो मन । एकछिन क्वाङ्देकै ऐनामा आनो प्रतिविम्ब सजाएँ मैले ।
     सहयोगीहरूले बन्दोबस्तीका सामानहरू कसकास पारेपछि उठान भयो हाम्रो सहासिक यात्राको पहिलो पाइला । सल्लेपिरको हरियाली छाम्दै लुक्लाबाट ओर्लेपछि दुधकोसीमा खस्यो नजर । चोखो निर्मल र निश्चल दुधकोशीको कणहरूका सरसताले छुँदा शीतलताको अनुभव गरेँ ।  

    KOshi.jpg
     चौँरी र खच्चरहरू पिठ्यूँमा भारी बोकेर उक्लिरहेका थिए । तोक्मामा भारी टेकाएर पसिना काढ्दै गेरका भरियाहरू त्यत्तिकै थिए बाटोमा । उनीहरूलाई देख्दा लाग्थ्यो– ‘कतै म आदिम इतिहासमा त फर्किरहेको छैन ?’ हठात् दुरुह जिन्दगी छट्पटाउँन थाल्यो मभित्र । थाप्लोका नाम्लो लगाएरै जीवन चलाउनु पर्छ र बचाउनु पर्छ एकमुठी श्वास । यसरी नै बाँचिरहेछ सोलुका अनमोल जिन्दगीहरू । 
     कुक निमा शेर्पाले हठात् चुलो तताउन थाले, दुधकोसीको किनारमा । खोलाकै किनारमा अवस्थित छ– एउटा सानो मानवबस्ती । बस्तीको नाम सुर्के । निकै सौम्य देखिन्छ– प्रकृतिमाझ थुपुक्क बसेको सुर्के । वर्षाको बाहुपासबाट भर्खरै उम्केको सुर्केले शरदको शीतलताको अनुभूत गराउँदै थियो ।
     सन् १९८८ अक्टोबर १५ गते । 
     पदयात्राको पहिलो दिनको पहिलो ओरालो झरेथ्यौँ हामीे । लुक्लाको २,८०० मिटरको उचाइबाट थालनी भएथ्यो हाम्रो पदयात्रा । 
     १९५० को दशकमै ब्रिटिश अभियानका एडमन्ड हिलारी, तेन्जिङ नोर्गे, एरिक शिप्टन र जर्ज लोवले यो क्षेत्रको अन्वेषण गरेका थिए । मेरा सेन्ट्रलको पहिलो आरोहण गरेका थिए– २० मे, १९५३ मा कर्नल जिमी रोबर्ट्स र सेन तेन्जिङले । जिमी रोबर्ट्स उनै आरोही हुन्, जसले नेपालमा माउन्टेन ट्राभल खोलेका थिए ।  
     सानो छँदा कहिलेकाही देख्ने गर्थे विदेशीहरू । उनीहरू कहाँका हुन् ? केका लागि आउँथे ? अहँ, थाहा थिएन मलाई । तर रमाइलो लाग्थ्यो गोरो छाला देख्दा । एउटा मिठो स्वादमात्र थियो त्यो । त्योभन्दा मिठो बन्यो सम्झनाका तरेली । बालवयको रमाइलोभन्दा रमाइलो अरु के नै होला र जीवनमा ! 
     सायद जिमी रोबर्ट्सले नेपालमा पर्यटनको व्यवसायीकरण नगरेको भए मैले यो पेशा सायदै अङ्गाल्थेँ हुँला । मलाई नै थाहा छैन– म यतिबेला के गर्दै हुन्थेँ ? र, मैले काम गर्ने ‘रिगल एक्सकर्शन’ पनि अस्तिङ्खवमा हुन्थ्यो कि नाईं । लुक्लाबाट ओरालो लाग्न थालेदेखि नै मैले जिमी रोबर्ट्सको स्मरण गरिरहेको थिएँ । 
     काठमाडौँबाट लुक्ला आएका र लुक्लाबाट काठमाडौँ फर्कंदै गरेका चिलगाडीका दृश्य देखिन्थे सुर्केको आकाशमा । फस्टाउँदै गरेको पर्यटनमा खुबै टेवा पु¥याइरहेका छन्– राष्ट्रिय ध्वजाबाहकले । पर्यटकहरूका पदयात्रा लुक्लाबाट सुरु भएर लुक्लामै अन्त्य हुनथालेपछि चार हप्ताको ट्रेकिङको लम्बाई घटेर दुई हप्तामा सिमित भयो । तर पदयात्रीहरू भने दोब्बरले बृद्धि हुन थालेको छ ।
     उकालिँदै गर्दा पिटर र आनाको शरीरबाट तुरुरु चुहिएको थियो पसिना । सुखमा राखेको त्यो ज्यानलाई किन दुःख दिएका होलान् ! उनीहरुको देशमा यसरी पसिना निकाल्ने डाँडाकाँडा कहाँ छर ! रमिरहेका थिए उनीहरू– शान्त प्रकृति, चराहरूको चिरबिर, खोलानाला र झरनाका झरझर आवाजमा ।  
     लगातार दुई घण्टाको उकालोपछि तेस्रो बाटो आयो । घाम नडुब्दै टुप्लुक्कियो  पयाङ्ग । 
     पयाङ्गमै हुन्छ आजको हाम्रो बास । 
     हाम्रो बसाई थियो पालमा । सहयोगी शेर्पाहरूले पाल टाँगे, पिटर र आनाका लागि एउटा र एउटा मेरो लागि । हाम्रो पालभन्दा अलि पर टाँगिएको थियो फराकिलो किचन टेन्ट । स्टाफहरूको सुताइचाहिँ त्यही टेन्टमा ।
     अलिकति तीनपानेले थाकेको शरीरलाई चङ्गा पारेपछिको आनन्द नै बेग्लै । बेलुकाको खानापछि मादल ठटाएर रमाइलो गरिहाल्नु पर्ने पूवेली राई साथीहरुको चलन नै हो । पिटर र आना पनि पनि खुबै रमे । नाचगान गरिरहे निद्रा नलगुन्जेल । फेरि क्याम्पिङ टे«किङको मजा नै यही हो । पुर्वेली लवजमा मलाई गाउन र नाच्न  नआए पनि तालि बाजाएरै रमाइलोको अनुभूति गरेँ मैले । 
     बिहान भयो । 
     क्वाङ्ग दे पिकमा सूर्यका सुनौला किरण नपर्दै पिटर र आनाका लागि हातमुख धुने तातोपानी हामीले तयार पारिदियौँ । बिहानको खाजा खाएपछि बन्दोबस्तीका सामानहरू पट्यायौँ हामीले । हरेक दिन यसै गर्नुपर्छ क्याम्पिङ टे«कमा । 
     यसै गरिगरि यात्रा हाम्रो चलिरह्यो । यसरी नै पुगियो पाङ्गोमा । बिसाइयो यात्राको भारी । एवम्रितले नासिङडिङ्मा, चेलेङ, र चुम्बुखर्क हुँदै पुगियो कोथे । र, पुगेथ्यौँ यात्राको उत्कर्षमा । 
     अनाम पहाडहरूलाई फनफनी घुम्यौँ । त्यही पहाडबाट देखेका थियौँ गगनमा टाँसिएका नाङ्गा पर्वतहरू । हामीजस्तै एकाध सहासिक पर्यटक र तिनका सहयोगीबाहेका कोही भेटेनौँ हामीले । हामीले नै थामिरहेथ्यौँ मिरा पिकको आकाश । 
     ज्यानलाई हिँड्ने बानी परिसकेको थियो । खिइँदै थियो जुत्ताका तलुवा । अलिकति घटेजस्तै भइसकेको थियो मेरो शरीरको वजन । उल्लासको यात्रामा पसिनाको भारी बोकेर उचाइ भुमिरहेको छु म ।
     हरियालीको पनि न्यास्रो लागिरहेका थियो यहाँसम्म आइपुग्दा । चारहजार मिटरको उचाइ नाघेपछि वनस्पतिहरूले पनि अस्तित्वको लडाईं लड्नु पर्दोरहेछ प्रकृतिसित । उदास धुपीका बुच्काहरू देखेर धेरै पटक विरह सुसेलेँ मैले । लाग्थ्यो– यहाँका वनस्पतिहरूलाई पनि मलाईजस्तै कठिन भइरहेको होला श्वास फेर्न । 
     पाँच दिनमा पुग्यौँ  खारे । 
     हिजोजस्तै लाग्छ काठमाडौँ छाडेको । दिन पनि कति छिट्टै बित्दोरहेछ ! यो बीचमा । थुप्रै पहाडहरू उक्लियो । थुप्रै पहरासित जम्काभेट गरियो । थुप्रै चट्टाहरूसित ठक्कर खाइयो । यतिबेला आफैँ पग्लिएको अनुभूति भइरहेको छ ।
     बाटोका ढुङ्गा र झरनाबाट बगिरहेको पानी मेरै भाग्यमा खस्ने असिना र आँसुका भेलझैँ लाग्थे । मेरो मनमाथि झरेथे पहराबाट खसेका चट्टानहरू र रुवाउने कोशिस गरेको थियो मलाई । केही दिनअघिको विगतलाई सम्झिँदै थिएँ म ।
     हिउँ देख्दा कसको मन लोभिन्न र ! साँच्चिकै लोभिएका थियौँ खारे पुग्ने दिन मेराको देउराली(मेरा ला)मा थुप्रिएको हिउँको थुप्रो देख्दा । वरिपरीको हिउँ साम्राज्यबीचमा छ खारेको बस्ती । बस्ती नै  त के भन्नु र ! खासमा यो खर्कमात्र हो । तर मेरा पिक चढ्न आउने विदेशीहरुलाई खान र बस्न  सजिलो होस् भनेर चौँरी बाधेर राख्ने खर्कका गोठहरुलाई शेर्पाहरुले व्यवस्थापन गरेर दुई पैसा आर्जन गर्ने मेला गरेकामात्र हुन्  । 
     पछुतो लागेझैँ भइरहेको थियो बसिरहँुझैँ  लाग्ने मेरा ला  छाड्नुपर्दा ।  हिँड्दै जाँदा पहाडका भित्ताहरू छाडिए । नवीन क्षितिजतिर तानिएको छ आँखा । जङ्गली भेँडाहरू विचरण गर्ने थुम्काहरू आउँछन्, एकपछि अर्को । अनपेक्षित लाग्दैछन्– उकाली, ओराली, घुम्ती र पच्याङहरू । दुनियाभन्दा मोहक लाग्छ प्रकृति र त्यत्तिकै मोहक लाग्छ आनै मनभित्रको विशाल फाँट । 
     मेरा पिकको आधार शिविर नै हो– खारे । उचाइ अनुकूलनका लागि दुई रात खारेमा बसेपछि मेरा हिमाल आरोहणको सिलसिला सुरु हुन्छ । खारेभन्दा माथि हिउँमै खाने । हिउँमै सुत्ने । हिउँमै पाल ठड्याउने । जे गर्ने हो, हिउँकै संसारमा गरिनुपर्छ । मज्जा आउँछ हिउँमा रमाउन । तर अलिकति मेसोे पु¥याउन जानेन भने मान्छे पनि हिउँ हुन बेर लाग्दैन ।  
     मेराको उच्च शिविर (हाइ क्याप ५८०० मिटर)मा एकरात बसेर राति नै  आरोहण सुरु गर्नुपर्छ । मेराको टुप्पोमा पुगेर फर्कनुपर्छ खरे । 
     हाइ क्याम्पमा क्लाइम्बिङ गाइडले आरोहीलाई आरोहणको अभ्यास गराउँदछ । दुई दिन हाइ क्याम्पमा बस्दा पिटर र आनाले हाम्रो क्लाइम्बिङ गाइडसँग क्लाइम्बिङ उपकरणहरू कसरी प्रयो गर्ने र हिउँमा कस्तो चाल चल्ने भन्ने कुरा सिकिसकेका थिए । 
     अघिल्लो साँझ पिटरले मलाई भने– “तिमी पनि हामीसँगै टुप्पोमा जानुपर्छ ।” 
     क्लाइम्बिङ गाइडसित अङ्ग्रेजी भाषामा सम्वाद गर्दा त्यति सहजता नभएकोले पिटरले मलाई लान खोजेको आशय बुझेँ मैले थिए । 
     हुनत समस्या आउने नै माथि उचाइमा नै हो । सोचे– ‘उनीहरूसँग संचार माध्यम (वाकीट्वाटी) थिएन । भाषाकै कारणले कुनै ठूलो समस्यासित सामना गर्नुपर्ने पनि हुन सक्छ । पाहुनाहरुलाई खुसी बनाउनु एउटा गाइडको कर्तब्य पनि त हो । आखिर म यिनीहरुकै यात्राको सहजकर्ता न हुँ ।’ आनो परिक्षा आफैँ लिदै थिएँ म । 
     योजना नभए पनि अन्ततः म उनीहरूसँगै आरोहण गर्न सहमत भए । ल्हाक्पा (क्लाइम्बिङ शेर्पा) पनि खुसी भए । लाक्पाको भरोसामा म र मेरो भरोसामा थिए– पिटरका जोडी ।
     पिटर र आनाले मेरा लागि चाहिने क्लाइम्बिङ बुट, हार्नेस, गियटर्स, हिउँमा प्रयोग हुने चस्मा, पञ्जा लगायतका सामग्रीहरू भाडामा लिए । 
     हिमालको उचाइमा चिसो सिरेटोले हान्छ बेस्सरी । चिसोले गर्दा शरीरका अङ्ग नै भए नभएको थाहा हुन्न । सास फेर्न गाह्रो हुँदै थियो । दुई पाइलामै स्याँ स्वाँ बढि हाल्ने । निःशब्द थिए अघिल्ला दिनहरूमा मुख चलाइरहने पिटर र आना । निःशब्द थियौँ हामी सबैसबै ।
     खारे(४९००मिटर)बाट सिधै माथी (५८०० मिटर) पुगेका थियौँ । हाइ क्याम्प पुगेर हिउँमै पाल ठड्यायौँ र म्याट्रेस बिछ्यायौँ । पालभित्र छु भन्ने अनुभूति त भयो तर हिउँ नछिरेपनि चिसोचाहिँ छिर्दोरहेछ मज्जैले । चिसोले निद्रा भगाइदिँदो रहेछ । यसै पनि उचाइमा निद्रा लाग्दैन, त्यसमाथि हिमालको चिसो ! हामी म्याट्रेसमा पल्टिएका मात्र थियौँ । 

    MEra.jpg
     हिमाल हेर्न जति आनन्द आउँछ, आरोहण गर्न त्यत्ति नै कठिन हुन्छ । वास्तवमै जोखिम हो हिमाल आरोहण । आरोहणलाई साहसिक यात्रा भनेर यसै कहाँ भनिएको हो र ! मानिसलाई कहिलकाहीँ जोखिम उठाउन मनपर्छ । यसैका लागि सात समुद्र पारगरेर आरोहीहरू आउँछन् । नत्र कसरी चल्नु हाम्रो रोजीरोटी ! नोभेम्बर २२ का दिन क्लाइम्बिङ शेर्पाले बिहान २ बजे नै उठाए हामीलाई । 
     उनले हामी तीनजनालाई एउटै डोरीमा बाँधे । सबैका आरोहण सामग्री मिले नमिलेको हेरे । र, सुरु भयो मेरा पिकको आरोहण । अगाडी शेर्पा लागे त्यसपछि पिटर र आना अनि म ।
     धेरैलाई मेरा पिकको आरोहण गराइसकेका छन् लाक्पाले । उनको लागि पानी पँधेरोजस्तै हो मेरा पिक । ट्रेकिङ पिकमध्ये सबैभन्दा अग्लो भए पनि तुलनात्मकरूपमा सजिलो छ या अरूभन्दा । जति सजिलो भए पनि पहिलो पटक आरोहण गर्नेलाई त्यस्तो महसुस त कहाँ हुँदो रहेछ र ।
     पिटर र आनालाई अगाडिबाट तान्थे लाक्पाले  ।  म उनीहरूलाई धकेल्थेँ पछाडिबाट । सबैको टाउकामा बलिरहेको थियो टर्च लाईट । टर्च लाईटकै उज्यालोमा आरोहण अगाडि बढ्यो ।  
     हिमालको उचाइमा हिँड्दा बोल्ने साहस आउँदैन । तर पनि पाइलालाई अगाडी सार्नुपरेकै छ । ल्हाक्पा रोकिए पो हामी रोकिनू ! एकोहोरो हिडाइरहेका छन् उनले ! जुत्ता बाहिर लगाएको काँडे जुत्ताले हिउँ कचेलेको क¥याप क¥याप आवाज आइरहेको थियो सङ्गीतजस्तै । 
     छ घण्टाको लगातार आरोहणपछि बिहान आठ बजे ल्हाक्पा शेर्पाले हामीलाई मेरा पिकको  चुचुरोमा उचाइमा पु¥याए । 
     घामको पहिले किरणले सगरमाथाको चुचुरो स्पर्श गरिसकेको थियो हामीले मेराको चुचुरोमा पाइला टेक्दा ।
      ६,४०० मिटरको  उचाइमा पुगेपछि खुसीको सीमा रहँदैन हामीमा । हामी हास्छौँ र अङ्माल गछौँ । मानौँ हामीले हिमाल विरुद्धको एउटा युद्ध नै जितेका थियौँ । सायद यस्तै खुसी भएका थिए उबेला जिमी रोबर्ट ।
     आठ हजारी हिमालको सम्मुखमा पुगेका थियौँ हामी । हाम्रो आगमनमा खुसी भएका थिए घामको लाली घसेका सगरमाथा, ल्होत्से, नुप्से, पुमोरी, मकालु र अनेकानेक बेनामे हिमचुचुराहरू । 
     आँखाले भ्याएसम्मका दृश्यमा कञ्चनजङ्घा  आउँथ्यो । मैले  कञ्चनजङ्घासित पनि साक्षातकार गराएँ आनालाई ।
     “ह्वाट अ ब्यूटिफुल भ्यू । थ्याङ्क यु फर मेकिङ आवर एक्सपिडिसन पोसिबल ! अन्तहीन दृश्यमा आह्लादित हुँदै आनाले भनिन् ।
     पिटरको मुखबाट एउटै शब्द दोहरिइ रहेथ्यो– “ब्यूटिफुल ! ब्यूटिफुल !”
     मैले भनेँ– “यी हिमालहरू नेपालीको गौरव हो ।  
     पिटर दम्पती यति खुसी थिए कि कहिले हामीसँग अँगालो हाल्न आउथे त त कहिले चुम्माचाटी गर्थे । खुसी साट्ने विदेशीको कायदा ! उनीहरूलाई नदेखेझैँ गथ्यौँ लाक्पा र म ।
     उनीहरू भन्थे– ‘सम्भवतः जीवनमा पहिलो पटक यति धेरै खुसी भएका छौँ ।’ 
     हिमालहरूको थुपै्र तस्बिर आनो क्यामरामा कैद गरे पिटर र आनाले । एउटै पृष्टभूमिलाई पटकपटक खिचे, भिन्नभिन्न कोणबाट ।
     मेरा पिकको टुप्पोमा बसुन्जेल थकाइ मेटिइसकेको थियो मैले सोचिरहेको थिएँ– आजै आधार शिविर फर्केर सहयोगीहरू सित मेरा पिकमाथिको विजयको उत्सव मनाउनु छ । उही बाटो फर्केर लुक्ला पुग्नु छ । फेरि दुखाउनु छ गोडा छत्रला को ओरालो ओर्लेर । लुक्ला पुग्दा थाकेको ज्यानलाई चङ्गा बनाउनु छ तीनपानेको महकले । 
     मेराको चुचुरोबाट ओर्लनुअघि आना र पिटरको धन्यवादको पात्र भएका थियौँ लाक्पा र म ।
     अघि भर्खरसम्म घामको लाली पोतिएको हिमशैलहरूले हिउँकै सुकिलो उपर्नामात्र ओढे । कति छिट्टै रूप फेर्छन् हिमालहरूले ! मेरा पिकलाई अन्तस्करणमा राखेरै खारे झर्न पाइला उठाएथेँ मैले ।

     

     

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - ०९:२८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij