२०८२ माघ १४ गते बुधवार
मकवानपुर । बागमती प्रदेश सरकार विस्तारका लागि गाँठो फुकेको छ । सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको हो । बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो । जसअनुसार नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाउने भएको छ । हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै कांग्रेसबाट दुई जना सहभागी भइसकेका छन् ।
मन्त्रिपरिषद विस्तारका क्रममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको हो । भागबण्डा मिलेसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । आज कांग्रेसबाट थप चार मन्त्री सरकारमा सामेल हुँदैछन् । तीमध्ये तीन जनालाई विभागीय जिम्मेवारी दिने र बाँकी एक जनालाई तत्काल बिना विभागीय जिम्मेवारीमा राखिने भएको छ ।
नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कृष्णप्रसाद शर्मा खनालका अनुसार उनीसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाबीच आइतबार बसेको बैठकले भागबण्डा टुङ्ग्याएको हो । आजै दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण गराउने गरी तयारी भइरहेको उनले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij