२०८२ माघ १४ गते बुधवार
प्रमुख सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाविरुद्ध मिडिया ट्रायल भइरहेको आरोप लगाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियासँग २ करोड लिएको अडिओबारे प्रहरीले अनुसन्धान गरिरहेका बेला कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन्।
‘अहिले आरजु राणाविरुद्ध मिडिया र सामाजिक सन्जाल ट्रायल भइरहेको छ। आरजुको केसमा उहाँले उक्त अडिओको सत्यतथ्य प्रमाणित होस् भनेर साइबर ब्युरोमा आफैंले उजुरी गर्नुभएको छ’, उनले भने, ‘मिडिया र सामाजिक सञ्जाल ट्रायल गरेर अनुसन्धान नै नसकिएको केसमा कसैलाई दोषी हो भनेर भन्न भएन।’ उनले उक्त प्रकरणमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए।
‘उक्त अडिओ झुटो हो भन्ने हाम्रो विश्वास छ। आरजु राणाले पनि यही भन्नु भएको छ’, उनले अगाडि भने, ‘अडिओ झुटो र नक्कली हो भन्ने हामीलाई लाग्छ। नभएको कुरालाई जबरजस्ती हो हो भनिँदैछ। पहिला नै एउटा माहोल बनाउने काम भएको छ। त्यस्ता अफवाहका आधारमा निष्कर्ष निकाल्नु भएन।’
डा. आरजुलाई अहिले सामाजिक सञ्जालमा आक्रमण गरिएको पनि महतले बताए। ‘आरजु अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा न आरोपित हो न उहाँविरुद्ध कुनै प्रमाण छ’, महतले भने, ‘यत्तिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी हो भन्न पाइँदैन। यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij