२०८२ भाद्र ३ गते मंगलवार
कालीकोटको पचालझरना गाउँपालिकाले तयार पारेको स्थानीय तहको पाठ्यक्रममा १० वर्षीय जनयुद्धको विषयलाई समावेश गरिएको छ।
पालिकाले ‘हाम्रो पचालझरना’ नामक स्थानीय पुस्तकमा जनयुद्ध लगायतका विषय समेट्दै विद्यालयलाई हस्तान्तरण गरेको छ। पाठ्यक्रममा स्थानीय कला, संस्कृतिलगायतका आठवटा विषयवस्तुहरु समेटिएका छन्। पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीले जनयुद्धको उपलब्धिबारे विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटिएको नेपाल लाइभलाई जानकारी दिए।
‘जनयुद्धको प्रोत्साहन नभई यसको इतिहास समेटेर जाऔं भन्ने हो। जनयुद्धकै कारण यो परिवर्तन भएको हो। हामी पहिला राणा शासन, पञ्चायतका विषयमासमेत अध्ययन गरिरहेका छौं। त्यसैले जनयुद्धले पनि के–के उपलब्धि गर्यो भन्ने कुरामा तलबाटै विद्यार्थीहरुले ज्ञान राखुन् भन्ने उद्देश्यले जनयुद्धलाई स्थानीय पाठ्क्रममा समेटेका हौं’उनले भने। अध्यक्ष शाहीले पाठ्यपुस्तकमा सकारात्मक र नकारात्मक दुवै पाटाहरुलाई समेटेको बताए।
‘जनयुद्धले हिंसा नै गर्यो भन्ने त भएन नि’, उनले भने, ‘त्यत्रो राजतन्त्र अन्त्य गरेर नेपालमा गणतन्त्र पनि जनयुद्धकै कारणले आएको हो। संघीयता, समानुपातिक,समावेशी व्यवस्था ल्यायो। यी हाम्रा उपलब्धि जनयुद्धकै जगमा आएको हो।’ उनले यो पाठ्यक्रम ल्याउनु पूर्व स्थानीय शिक्षाका विज्ञहरुसँग छलफल, परामर्श गरेर ल्याएको बताए।
स्थानीय पाठ्यक्रममा जनयुद्धका अलावा धार्मिक क्षेत्र, रैथाने बाली, स्थानीय रितिरिवाज र ऐतिहासिक सम्पदा लगायतका विषयहरु समेटिएको बताए। जनयुद्धका बेलामा कालीकोट जिल्लाबाट ५ सय २५ जनाको मृत्यु भएको र जसमध्ये एक सय बढी पचालझरनाको व्यक्तिहरु रहेको गाउँपालिकाले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij