२०८२ माघ १४ गते बुधवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छिट्टै समाजवादी मोर्चा गठन हुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गदै अध्यक्षद्धय प्रचण्ड र नेपालले यस्तो बताएका हुन् ।
छिट्टै, केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ र त्यहीँबाट कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुविकरणतिर जानेछौं । त्यो मोर्चाले नेकपातिर फर्किनका लागि सबै सबैलाइ अपिल गर्नेछ’ प्रचण्डले भनेका छन् ।
२०७४ सालको चुनावअघि एकताको घोषणा गर्दै वाम तालमेल गरेका एमाले र माओवादी केन्द्रले झण्डै दुई तिहाइ बहुमत पाएको थियो । २०७५ साल जेठमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्दबीच एकता भइ नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको थियो । तर, पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएपछि दुइ पार्टी अलग भएका थिए । त्यसपछि एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी बनेको हो ।
एमाले र माओवादी मिलेर बनेको विगतको नेकपालाई आम कार्यकर्ता र बहुसंख्यक जनताले अनुमोदन गरेपनि उक्त एकतालाई जोगाउन नसकिएको उल्लेख गर्दै उनले फेरि पनि कम्युनिस्ट एकताको आवश्यकतामा जोड दिएका हुन् । व्यक्तिवादका कारण तत्कालिन नेकपाको एकता टिक्न नसकेको उनको बुझाइ छ ।
नाम नलिएर प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरे । ‘कम्युनिस्ट पार्टीलाई जनवादी आधारमा ब्यापक छलफल र बहसको बीचबाट एकता पैदा गर्ने रुपमा लिएर जाने हो कि ? एउटा नेताको आदेशमा चल्ने, समूहको रुपमा वा एउटा गिरोहको रुपमा लिएर जाने हो भन्ने विवाद सुरु भयो र त्यो संघर्षको परिणाम आज हामी यो ठाउँमा छौं’ प्रचण्डले भनेका छन् ।
तत्कालीन नेकपामा ‘आत्मनिर्भर अर्थतन्त्रका योजना, नीति अगाडि बढाउँदै लैजाने हो कि, दलाल पुँजीवाद या सामन्तवादका अवशेषहरुसँग सम्झौता गरेर दाल पुजीँवादलाई बढावा दिन हो भनेर संघर्ष’ भएको पनि उनले स्मरण गरे ।
फेरि पनि वामपन्थी एकता र आवश्यकता रहेको उनले बताए । ‘… हामी भनिराखेका छौं नेकपातिर नै फर्किनुपर्छ ।’ प्रचण्डले भनेका छन्, ‘आउनुहोस् बसौं सबै, बिना आग्रह र पूर्वाग्रह समीक्षा गरौं । एकताको फेरि नयाँ एउटा पहल सुरु गरौं ।’ यसका लागि समाजवादी मोर्चा हुँदै अगाडि बढ्न सकिने प्रचण्डको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij