२०८२ भाद्र २ गते सोमवार
बारा । नागरिकताका लागि नक्कली विवरण बनाएर सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्।
मावली हजुरबुवाबाट बंशजको आधारमा नागरिकता दिलाउनको लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका–१० का वडाध्यक्ष महम्मद साबिरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। वडाध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन्। रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरु पक्राउ परेका हुन्।
उनीहरूलाई गोप्य उजुरीको आधारमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए।
उनका अनुसार नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष साबिरलाई बुधबार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भइसकेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij