२०८२ कार्तिक ३० गते आइतवार
प्रमुख तीन राजनीतिक दलबीच प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया चाँडै अघि बढाउने सहमति भएको छ।
भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) का अध्य केपी शर्मा ओलीको निवासमा सोमबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन चाँडै संविधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल‚ एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए।
बैठकपछि कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री दाहालले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधान्यायाधीश नियुक्तिको प्रक्रिया चाँडै अघि बढाउने राखेको प्रस्तावमा नेताहरूले सहमति जनाएको बताए। उनले भने‚ “प्रधानमन्त्रीजीले संवैधानिक परिषद्को बैठक डाक्ने र प्रधानन्यायाधीशको बारेमा निर्णय गरेर अगाडि बढ्ने प्रस्ताव राख्नुभयो। त्यसलाई प्रमुख प्रतिपक्ष दलका नेताले हुन्छ भन्नुभएको छ।”
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप विधेयकबारे पनि छलफल भएको नेता लेखकले बताए। उनले भने‚ “टीआरसीको विषयमा छलफल भएको छ। त्यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा भएको छ।”
नेताहरूबीच संसद सञ्चालन‚ संसदीय समितिहरूलाई पूर्णता दिनेबारे पनि छलफल भएको बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij