२०८२ मंसिर १ गते सोमवार
रौतहटमा शनिबार ऐलानी जग्गा च्याप्ने विषयलाई लिएर गोली चलेको खुलेको छ। प्रहरीका अनुसार शनिबार रौतहटको गढीमाई नगरपालिका–८ मा दुई पक्षबीच ऐलानी जग्गाको विषयलाई लिएर गोली चलेको हो।
दुई पक्षबीचको झडप गोलीकाण्डमा परिणत भएको थियो। जसमा १२ बोरको बन्दुकबाट तीन राउण्ड गोली फायर गरिएको रौतहटका एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए। गोली लागेर स्थानीय राजकुमार राय यादवको ज्यान गएको उनले बताए। गोली लागेर घाइते भएका यादवको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको एसपी मगरले बताए।
दुई जना स्थानीयको घरको बीचमा एक कठ्ठाजति ऐलानी जग्गा रहेको र सोही जग्गामा दुवै जनाले दाबी गर्दा विवाद बढेको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले जानकारी दिए। बीचमा रहेको ऐलानी जग्गाको विषयमा विवाद हुँदा जग्गा छुट्याएर किलासमेत गाडिसकिएको भए पनि पछि दुवै पक्षबीच गालीगलौज भएको र विवाद बढ्दै जाँदा गोली चलेको उनले बताए।
किला गाडेपछि करिब एक फिटमात्रै यता उता भएकोमा दुबै पक्षले आफ्नो जग्गा च्यापियो भनेर दुवैतर्फबाट ढुंगा हानाहानसमेत गरेको मेयर यादवको भनाइ छ।
‘दुई पक्षले आ–आफ्नो जग्गा च्यापियो भनेर झगडा गर्न थालेछन्। ढुंगा पनि दुबैतर्फबाट चल्यो,’ उनले भने, ‘त्यही क्रममा लाइसेन्सी बन्दुकले गोली चल्यो। एक जनाको मृत्यु भयो। गोली टाउकोमै लागेको थियो।’
गोलीकाण्डमा चार जना घाइते भएका छन्। घाइते हुनेहरुमा बलदर राय यादव, रामप्रताप यादव, कपिलदेव राय यादव र निञ्जन यादव रहेका छन्। उनीहरुमध्ये दुई जनाको खुटामा गोलीको छर्रा लागेको एसपी मगरको भनाइ छ। घाइते भएका चारै जनाको गरुडाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलबाट प्रहरीले फायर गरिएको तीन राउण्ड गोलीको खोका, स्थानीय रामबाबु राय यादवको घरबाट १० राउण्ड गोली र घटनास्थलबाट १२ बोरको एक थान बन्दुकसमेत बरामद गरेको छ। ‘गोली कसले चलाएको हो भन्ने विषयमा हामीले अनुसन्धान गरिरहेका छौँ,’ एसपी मगरले भने।
गोलीकाण्डमा संलग्न रहेको आरोपमा स्थानीय रामबाबु राय यादवसहित १६ जनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij