२०८२ मंसिर २ गते मंगलवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।
मंगलबार काठमाडौंमा जारी वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा विस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताएका हुन्। उनले शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताए।
उनले अनुसन्धानका शाखाहरू प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको सुनाए। सचिव डा पोखरेलले देशमा नसर्ने रोगहरूको पनि अनुसन्धान हुन जरुरी रहेको बताए। उनले अनुसन्धानका गतिविधिहरूलाई तिब्रता दिन पनि आग्रह गरे।
‘अनुसन्धानको दायरा बढाउन हामीले यसको शाखा हरेक प्रदेशमा विस्तार गर्नुपर्छ। त्यसका लागि मन्त्रालय लागिपरेको छ। हामीले प्रादेशिक रुपमा अघि लैजानुपर्ने भन्ने मुख्य आवश्यक्ता हो। त्यसका लागि हामी गहन छलफल छौँ’, पोखरेलले भने, ‘कोरोना कालमा गरेका अनुसन्धानले पनि हामीलाई धेरै मद्दत पुगेको छ। अब हामीलाई नसर्ने रोगका लागि धेरै अनुसन्धान चाहिएको छ। हाम्रा नीतिहरू त्यसैअनुरुप अघि बढ्नु आवश्यक छ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता जनाए।
उनले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए। उनले युवाहरूको नवीन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘हाम्रो संविधानले तय गरेका विकास सम्बन्धिमा वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने, वैज्ञानिक, प्रविधिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने उल्लेख छ। संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्नेछ’, श्रेष्ठले भने।
उनले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए।्उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने पनि बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij