२०८२ मंसिर २ गते मंगलवार
वीरगञ्ज महानगरपालिका-१० घडीअर्वास्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर अतिक्रमण गरी बनाइएका संरचनामा आइतबार पनि डोजर लगाइएको छ।
महानगरपालिकाको वडा नम्वर १० घडीअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको मन्दिरमा भएको अतिक्रमण शनिबारबाट डोजर लगाएर हटाउन थालिएकोमा आज पूर्ण रूपमा हटाइएको हो।
आफू मन्दिरको पूजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगरविरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत वीरगञ्जमा रिट दिएका थिए।
तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै शनिबार महानगरपालिकाले पूजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरी निर्माण गरेको पक्की संरचनामा डोजर लगाएर भत्काउन थालेको हो।
गत फागुन ४ गते पूजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाइ सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै मन्दिरलाई बन्धक बनाएर गरिएको अतिक्रमण हटाइएको हो।
विसं १९८२ सालदेखि नै रामजानकी मन्दिरको नाममा रहेको उक्त जग्गामा पूजारी तिवारीले विगत ३० वर्षदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनैतर्फ पक्की संरचना बनाएर सटर भाडामा लगाएका थिए।
मन्दिरमा भएको अतिक्रमण हटाउन शनिबार महानगरका मेयर राजेशमान सिंह आफै डोजर लिएर पुगेका थिए। शनिबार मन्दिरको उत्तर तर्फको संरचना हटाइएकोमा आज पूर्वतर्फको संरचना पनि हटाइएको महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij