२०८२ मंसिर ४ गते बिहिवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं उपस्थित हुँदा–हुँदै प्रधानमन्त्री कार्यालयको विधेयक अर्कै मन्त्रीले पेस गरेको भन्दै एमालेले विरोध जनाएको छ। प्रधानमन्त्रीले संसद्को अपमान गरेको भन्दै एमालेका तर्फबाट योगेश भट्टराई र रघुजी पन्तले विरोध जनाएका हुन्।
संसद्मा संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस भएको छ। सञ्चार मन्त्री रेखा शर्माले पेस गरेकी छिन्।
यसमा आपत्ति जनाउँदै एमाले सचिवसमेत रहेका सांसद् भट्टराईले भने, ‘प्रधानमन्त्री स्वयं उपस्थित हुनुहुन्छ। सम्मानीय प्रधानमन्त्री नै उपस्थित भएको बेला अर्को मन्त्रीले प्रस्तुत गर्ने कुरा सुहाउँदो होइन। त्यसैले सभामुखले नियमन गर्नुपर्छ।’
एमालेकै अर्का सांसद् रघुजी पन्तले पनि विशेष समय माग्दै संसद्को गरिमाको ख्याल गर्न आग्रह गरेका हुन्। उनले भने, ‘यो संसद्को गरिमा त्यो बेला बढ्छ, जब संसद्ले जन्माएको सरकारले त्यसको गरिमा कायम राख्छ। प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा–हुँदै अर्को मन्त्रीलाई विधेयक पेस गर्न दिनु संसद्को अवहेलना हो।’
उनले यही संसद्ले सरकार जन्माएको बताउँदै अहिलेसम्म संसद्को शून्य समयमा उठेका कुराहरुको सरकारले सुनुवाइ नगरेकोसमेत बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij