सर्वोच्चले रविको मुद्दामा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन गरिरहेकाले त्यतैबाट निरुपण हुने भनेको थियो।
फागुन २४ गते आएको फैसलाको पूर्णपाठ तयार भएसँगै अदालतले अनुसन्धान फायल प्रहरीलाई नै फिर्ता पठाएको थियो। फायल फिर्ता आएको एक हप्ता नबित्दै प्रहरीले प्रतिवेदन बुझाएको थियो।
प्रहरी प्रतिवेदन बुझाएको केही घण्टामै सरकारी वकिलको कार्यालयले त्यसलाई उच्चमा पठाएको थियो। अब उच्च सरकारी वकिल कार्यालयले महान्यायाधीवक्ताको कार्यालयमा पठाएपछि मुद्दा चलाउने/नचलाउने अन्तिम टुंगो लाग्नेछ।
महान्यायाधीवक्ता डा. दिनमणी पोखरेलले आफू केही दिनअघि मात्रै अमेरिकाबाट फर्किएकाले फायल आएपछि अध्ययन गरेर निर्णय गर्ने बताए। ‘म दुईचार दिन बाहिरै थिएँ। शुक्रबार पनि बाहिर बाहिरै भएँ। आइतबार कार्यालय पुगेपछि यस विषयमा बुझ्छु फायल पनि आउला,’ उनले भने।
मुद्दा चलाउन नपर्ने प्रहरीका तीन आधार
रविले सन् २०१५ मा राहदानी लिएका थिए। अमेरिकी नागरिक भएपछि रविले नेपाली नागरिकता त्यागेनन्। दोहोरो नागरिकता बोकिरहेकै बेला उनले नेपाली नागरिकताका आधारमा राहदानी लिए। जुन नागरिकताको दुरुपयोग नभएको निष्कर्ष प्रहरीको छ।
आफूले अध्यागमन विभागमा पत्र पाठएको र विभागले राहदानी दुरुपयोग गरेको नदेखिएको जवाफ पठाएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
रविलाई मुद्दा चलाउन नपर्ने अर्को आधार प्रहरीले रविको नागरिकता प्रकार वंशजको आधारमा हुनु मानेको छ। अमेरिकी नागरिकता लिनुपूर्व रविले वंशजका आधारमा नेपाली नागरिक रहेकाले उनी पूरै विदेशी नभई गैरआवासीय मात्रै भएको निष्कर्ष प्रहरीको छ।
रविले पुरानो नागरिकता र राहदानी रद्द गरिसकेकाले मुद्दा चलाउन नपर्ने तेस्रो आधार प्रहरीले पेश गरेको छ। पुरानो त्यागेर नयाँ प्रमाणपत्र लिइसकेकाले मुद्दा चलाउन नपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। अध्यागमन विभागबाटै राहदानी रद्द भएकाले फेरि मुद्दा चलाउन नपर्ने निष्कर्ष प्रहरीको छ।
प्रहरीका यी आधारलाई तर्कसंगत मानी सरकारी वकिलको कार्यालयले उक्त प्रतिवेदन सदर गरेको हो।
रविले झूटा विवरण पेश गरेर राहदानी लिएको तथा राहदानी दुरुपयोग गरेको आरोप लगाउँदै सिन्धुलीका युवराज सफलले गृह मन्त्रालयमा उजुरी गरेका थिए। गृहबाट जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरी परिसर काठमाडौंले रविविरुद्ध अनुसन्धान अगाडि बढाएको थियो।
त्यसबेला रवि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधित्व गर्दै सरकारमा सहभागी थिए। उनी गृहमन्त्री भएकाले अनुसन्धान प्रभावित भएको थियो। अनुसन्धानका क्रममा प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागमा विवरण माग गर्दै पत्र पठाएको थियो।
तर त्यसबेला गृह मन्त्री रहेका रविले अनुसन्धान गरिरहेका काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराको तत्काल सरुवा गरी दानबहादुर कार्कीलाई काठमाडौं तानेका थिए।
यसैबीच गएको माघ १३ गते सर्वोच्चले नागरिकतासम्बनन्धी विवादमा फैसला गर्दै पार्टी सभापति, सांसद र गृहमन्त्री पद खारेज गरेको थियो।
त्यसपछि फेरि गृहमन्त्री बन्न लबिङ गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी नदिएपछि उनी सरकारबाट बाहिरिएका थिए।
नयाँ नागरिकता लिएपछि पुन: पार्टी सभापति बनेका उनी चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचन लड्ने तयारीमा छन्।