२०८२ मंसिर ४ गते बिहिवार
गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ ।
गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो शहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना नै निर्माणको थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
गुरुयोजना निर्माणका लागि अहिले पालिकाभित्रका सबै वडामा सार्वजानिक सुनुवाइको काम सुरु भइसकेको अध्यक्ष देवकोटाले बताए ।
‘अहिले सबै वडामा सुनुवाइ हुने क्रम चलिरहेको छ’, अध्यक्ष देवकोटाले भने, ‘कुन सडकलाई कस्तो मापदण्ड बनाउने, सडक निर्माण गर्न लागिएको ठाउँका जनताको गुनासो के छन भनेर राय सुझाव संकलनको काम भइरहेको छ ।’
लगत्तै परामर्शदाता, भूगर्वविद्, अमिन, इञ्जीनियरलगायतका प्राविधिकको टोलीले गुरुयोजना निर्माणका लागि सुझावसहितको प्रतिवेदन तयार पार्ने उनको भनाइ छ । करिब साढे दुई महिनाभित्रमा गुरुयोजना निर्माणको काम सम्पन्न भइसक्ने अध्यक्ष देवकोटाको भनाइ छ ।
‘एकपटक निर्माण गरेको सडक दुई-चार वर्षमा भत्काएर पुनः नयाँ बनाउनुपर्ने बाध्यता सबैतिर छ, त्यसले समय र लगानीसमेत बर्बाद भइरहेको छ’, अध्यक्ष देवकोटाले भने, ‘यसलाई रोक्न र विकासलाई दीर्घकालीन लक्ष्यसहित तीव्रगतिमा अघि बढाउन पालिकाले यातायात गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।’
उनले पालिकाले आफ्नै यातायात गुरुयोजना बनाएपछि पालिकाभित्र सडक निर्माण गर्दा दीर्घकालीन लक्ष्य बनाएर योजनाबद्धरूपमा सडक निर्माणको थालनी गरिनेसमेत बताए ।
‘गुरुयोजना निर्माण गर्दा पालिकाभित्रका सडकलाई चार भागमा वर्गीकरण गर्न लागिएको छ’, अध्यक्ष देवकोटाले भने, ‘वर्गीकरणका क्रममा सडकका मापदण्डसमेत निर्धारण गरिनेछ र त्यसका आधारमा मात्र सडक निर्माणको काम अघि बढ्छ ।’
गाउँपालिकाले निर्माण गर्न लागेको गुरुयोजनामा ‘क’ वर्गको सडकको न्यूनतम मापदण्डअनुसार चौडाइ १४ मिटर रहनेछ भने ‘ख’ वर्गको सडकको न्यूनतम मापदण्डमा चौडाइ १० मिटर रहने व्यवस्था गरिनेछ ।
त्यस्तै ‘ग’ वर्गको सडकको चौडाइ न्यूनतम आठ मिटर र ‘घ’ वर्गको सडकको मापदण्ड चौडाइ न्यूनतम छ मिटर कायम गरिने अध्यक्ष देवकोटाको भनाइ छ ।
‘हामीले एकपटक सडक निर्माण गरिसकेपछि अबको ५० वर्षसम्म अजिरकोटको भविष्य यसले सुनिश्चित गर्दछ’, अध्यक्ष देवकोटाले भने, ‘यस्तो रणनीतिक महत्वका विषय वस्तुलाई ढिलाइ गर्दा हामीले भोलिको गाउँपालिकालाई व्यवस्थित गर्न सक्दैनौँ भनेर गुरुयोजना निर्माणको थालनी गरिएको हो ।’
गाउँपालिकाले यातायात गुरुयोजना निर्माण गर्दा जनघनत्व, आवश्यकता र महत्वका आधारमा सडकको वर्गीकरण गर्न लागेको उनले बताए ।
गाउँपालिकाको बजेटबाट मात्र सबै सडक निर्माणको काम अघि बढाउन नसक्ने भएकाले पनि गुरुयोजना निर्माण गरेपछि समपूरक तथा संघीय अनुदानलाई केन्द्रित गर्न सजिलो हुने तथा दीर्घकालीन योजनासहित सडक निर्माणको काम अघि बढाउन सजिलो हुने अध्यक्ष देवकोटाले जानकारी दिए ।
सडक योजना निर्माण गर्दा गाउँपालिकाका वडाहरू गाउँपालिकाको केन्द्र, अस्पताल तथा शहर र अन्य ठूला विकासका पूर्वाधारसँग जोडिएका सडकलाई पहिलो प्राथामिकताको सडकका रूपमा विकास गर्ने योजना गाउँपालिकाको रहेको अध्यक्ष देवकोटाको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij