२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीका सदस्यलाई संयमित भएर धैर्य गर्न अपिल जारी गरेको छ । अध्यक्ष मिनराज कँडेलद्वारा जारी अपिलमा केही संस्थाबाट भएका गलत क्रियाकलापको हल्लाका कारण सबै सहकारी संस्था उस्तै हुन् भन्ने भ्रम सिर्जना भएको उल्लेख छ।
‘गलत बुझाइका कारण सदस्यबाट एकैपटक बचत फिर्ता लिन खोज्दा संस्थाको तरलता व्यवस्थापनमा कठिनाई भई संस्थामा गम्भिर असर पर्न जाने भएकोले सम्पूर्ण सदस्यहरूलाई संयमताका साथ नियमित कारोबार गर्न अनुरोध गर्दछौं ।’
सहकारी संघ/संस्थाहरूले बचत रकमको सामान्यतया ८० प्रतिशतसम्म सदस्यहरुलाई नै विभिन्न प्रयोजनमा कर्जा प्रवाह गर्ने भएको हुँदा ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा व्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाई दिन अपिल जारी गरिएको छ।
संस्था बचाउन र सदस्यको बचत सुरक्षण गर्ने कार्य सदस्यबाट नै हुने भएको हुँदा ऐन, नियमावली, संस्थाको विनियमअनुसार समिति विघटन तथा चयन गर्ने अधिकार समेत सदस्यमा निहित हुने भएकोले संस्थामा आफ्नो सदस्यताको जिम्मेवारी सक्रियताका साथ निर्वाह गर्न महासंघले भनेको छ।
संघ/संस्थाले अन्य सहज परिस्थिति भन्दा वढी सदस्यसँग सम्पर्क समन्वय गरी विश्वासको वातावरण सिर्जना गर्दै संस्था नियमित रूपमा संचालन गर्न आग्रह गरिएको छ । संस्थाका सदस्यहरूले निराधार हल्लाका पछि लागि सञ्चालक एवं कर्मचारीमाथि दुव्र्यवहार, हुलदंगा नगरी हालको प्रतिकूल अवस्थामा बचतकर्ताले धैर्य गर्न आग्रह गरिएको छ ।
संघ/संस्थाको सम्पत्ति दायित्व व्यवस्थापनका लागि नियमित वित्तीय विश्लेषण गर्दै अल्पकालिन योजना तर्जुमा गरी जोखिम न्यूनीकरण गर्न, जिल्ला, प्रदेश तथा केन्द्रीय स्तरका संघ तथा राष्ट्रिय सहकारी बैंकले समेत सदस्यको समस्या समाधानका लागि संस्थासंग सहजीकरण गरी रचनात्मक तथा सन्देशमूलक जागरणको भूमिका निर्वाह गर्न महासंघले भनेको छ।
प्रतिकूल परिस्थितिमा सहकारी अभियानप्रतिको विश्वासको संकट उत्पन्न भएको सम्बन्धमा महासंघ जानकार भएको जनाइएको छ। महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा सहकारी विभागमा सहकारी ऐन नियममा भएका प्रवद्र्धनात्मक व्यवस्था गर्न लबिङ गरिरहेको अध्यक्ष कँडेल बताउँछन्। कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण, बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्न अभियानले जोडतोडले आवाज उठाइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij