२०८२ माघ १४ गते बुधवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालयहरु नेपाली कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। प्रचण्ड सरकारमा एमालेले आठवटा मन्त्रालय पाएको थियो।
पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा एमालेले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमिसुधार, महिला बालबालिका र कृषि मन्त्रालयहरु सम्हालेको थियो।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएसँगै खाली भएका १३ र आफूले त्यसअघि नै हेर्दै आएका ३ मन्त्रालय (गृह, वन तथा वातारण र युवा तथा खेलकुद) सहि १६ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले गृह माओवादी केन्द्रसँग राखेर एमालेले सम्हालेका ८ मन्त्रालय कांग्रेसलाई दिने र बाँकी रहेका मन्त्रालयहरु अन्य दललाई दिने तयारी गरेका हुन्।
राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी एक ठाउँमा उभिएका थिए। रास्वपाले भने अघोषित रुपमा ७ दलीय गठबन्धनका उम्मेदवारलाई सघाएको थियो।
कांग्रेसका एक शीर्ष नेताका विश्वासपात्रले परराष्ट्रमन्त्रीमा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सम्भावना प्रबल रहेको समेत दाबी गरे। उनले कञ्चनपुर–२ बाट निर्वाचित एनपी साउद, तेह्रथुमबाट निर्वाचित सीता गुरुङको पनि मन्त्री बन्ने सूचीमा नाम रहेको बताए। कांग्रेसबाट मन्त्री बन्नेमा प्रवक्ता डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेतको नाम पनि चर्चामा छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij