काठमाडौं । सुरेन्द्रप्रसाद सिंह सभापति बनेर आएपछि सुनौलो दिन सुरु भएको दाबी गरिएको नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमिति भद्रगोल अवस्थामा पुगेको छ ।
सुरुवाती दिनमा सिंहको नेतृत्वमा कांग्रेसभित्र सकारात्मक संकेतहरु देखिए पनि अहिले कार्यसमितिमा अराजकता मौलाएको छ । संगठन चलायमान बनाउन सभापति सिंह असफल देखिएका छन् । पछिल्लो समय जिल्ला कार्यसमितिको एउटा पनि बैठक राख्न सकेका छैन । यसको फाइदा उपसभापति सरोज कुमार यादवले उठाएका छन् ।
संस्थापनभित्र पूर्वसभापति नागेन्द्र कुमारका छोरा सरोजले संगठनमा आतंक नै मच्चाएका छन् । एकातिर सभापति सिंहले राम्रोसँग कमिटी चलाउन सकेका छैनन् भने अर्कोतिर पिता नागेन्द्रको डिजाइनमा उपसभापति सरोजले एकलौटीरुपमा मनोमानी निर्णय गरेर संस्थापनभित्रै मारामारको स्थिति बनाएका छन् । सरोजले जिल्लामा पार्टीलाई ‘यादवमय’ बनाउन प्रयोग गरिरहेका छन् । सरोजको सांगठनिक अराजकतामाथि केन्द्रबाट हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सिंगो पार्टीपंक्ति आसन्न स्ववियू निर्वाचनको तयारीमा लाग्दा उपसभापति सरोज भने त्यसलाई भाड्ने र कांग्रेस हराउने अभियानमा सहयोग पुग्नेगरी गतिविधिमा संलग्न छन् । सरोजले यादव समुदायलाई मात्र च्याप्दा जिल्लामा विद्यार्थीहरु रुष्ट बनेका छन् । जसको स्ववियू चुनावसमेत पर्ने निश्चित छ । यसैकारण नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रबाट हस्तक्षेप गर्नुपरेको छ ।
नागेन्द्र र सरोजले सभापति सिंहलाई दबाबमा पारेर एकलौटीरुपमा संगठनमा मनोनित गर्ने र निर्णयहरु गर्दै गएको पाइएको छ । संस्थापनइतर एक नेताकाअनुसार नेविसंघको जिल्ला अध्यक्षमा धीरज यादवलाई नियुक्त गरेबाट नै संस्थापनको मारामार छताछुल्ल भएको छ । मोटरसाइकल मेकानिक अर्थात औपचारिक अध्ययन पेशामा नरहेको व्यक्तिलाई विद्यार्थी संघको अध्यक्ष बनाउँदा संस्थापनभित्रै असन्तुष्टि बढेको ती नेता बताउँछन् । उपसभापति सरोज कुमारको जोडबलमा नियुक्त भएका धीरजले स्ववियू निर्वाचनको मुखमा संगठनको नतिजामै असर पर्नेगरी जिल्लाभित्रका नेविसंघका सबै कमिटी भंग गरेका थिए ।
नेविसंघका सक्रिय सदस्यहरुको मनोबल नै गिराउनेगरी उपसभापति सरोजको आडमा एकलौटी रुपमा कमिटी भंग गरेपछि केन्द्रिय सभापति दुजाङ शेर्पाले हस्तक्षेप गरेर निर्णय उल्ट्याइदिएका छन् । स्ववियू चुनावको मुखमा अविवेकी र कच्चा निर्णय गर्ने धीरजलाई यादव समुदायको भएकै कारण सरोजले एकलौटी रुपमा नेविसंघको जिल्ला अध्यक्ष बनाएका थिए । अन्य निर्णयहरुमा पनि संस्थापनभित्रै मारामार रहेको र यसको क्षति पार्टीले व्यहोर्ने संस्थापनइतरको चिन्ता छ । जिल्ला सभापतिले पनि बैठक नबोलाएर पार्टी कमिटीलाई निष्क्रिय बनाएको गुनासो संस्थापनइतरको छ ।
नागेन्द्र कुमार सभापति हुँदा परिपक्व र पार्टीको लागि कुशल निर्णय गरे पनि राजनीतिक पृष्ठभूमि नभई पिताको विरासतमा राजनीतिमा आएका सरोजले सभापतिलाई पनि वाइपास गरेर एकलौटी निर्णय गर्दै आएको र यसले पार्टी नेतृत्वप्रति वितृष्णा बढाएको बुझाइ पार्टी पंक्तिमा छ । वर्तमान सभापति सिंहले पनि बैठक नै राख्न नसकेको, संगठन विस्तार नगरेको, गएको चुनावमा पार्टी उम्मेदवारलाई जिताउन नसकेकाले नेतृत्वको क्षमतामाथि नै प्रश्न उठ्ने बेला आएको छ । नेतृत्वले कमिटी चुस्त बनाउन नसकेको, इतर पक्षलाई समेट्न नसकेको, उपसभापतिको स्वेच्छारितामाथि लगाम लगाउन नसकेको गुनासो आम कार्यकर्ताको छ ।