Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

तनहुँ-१ मा उपनिर्वाचन, को-को छन् कांग्रेसबाट दाबेदार?

तनहुँ-१ मा उपनिर्वाचन, को-को छन् कांग्रेसबाट दाबेदार?


  • 2.2K
    Shares

    तनहुँ-१ मा उपनिर्वाचन, को-को छन् कांग्रेसबाट दाबेदार?
    images

    गत मंसिर ४ मा भएको चुनावबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुने भएको छ। पौडेल राष्ट्रपति बनेपछि उनको सांसद पद स्वत: गएको छ।

    यतिमात्र होइन, पौडेलले नेपाली कांग्रेससँगको आवद्धता टुंग्याइसकेका छन्। आइतबार पार्टी कार्यालयलाई पत्राचार गर्दै उनले कांग्रेस सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिई अलग रहेको उल्लेख गरेका थिए।

    पौडेलले पार्टीबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले आइतबारनै स्वीकृत गरिसकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    पौडेल केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, संसदीय बोर्डका सदस्यसमेत थिए। पौडेल राष्ट्रपति बनेसँगै गत मंसिर ४ मा उनी निर्वाचित भएको क्षेत्र तनहुँ १ रिक्त भएको छ। यहाँ अब उपनिर्वाचन हुनेछ।

    मंसिरको चुनावमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई हराएका थिए। उनले १९ हजार ९ सय ८१ मत ल्याएका थिए।

    पौडेल २०४८ सालदेखि २०७९ को चुनावसम्म बीचमा एक पटक २०७४ को चुनावबाहेक अरू बेला तनहुँबाट चुनाव जितिरहेका थिए। २०७४ मा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तत्कालीन वामगठबन्धनबाट कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए।

    रिक्त रहेको तनहुँ १ मा कांग्रेसका धेरै नेता चुनाव लड्न इच्छुक छन्। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेर कांग्रेस नेताहरूले तनहुँ १ को टिकट माग गरिरहेका छन्। पौडेल ८ दलको समर्थनमा गत फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार भएदेखि नै तनहुँ १ मा टिकट माग्ने क्रम सुरू भएको थियो।

    आइतबार देउवा निवासमा पुग्नेमध्ये एक थिए, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई। उनी तनहुँलगायत जिल्लाका नेता/कार्यकर्तासहित सभापति भेट्नका लागि धुम्बाराही पुगेका थिए। भट्टराईले तनहुँ १ मा हुने उपचुनावमा पार्टीबाट युवालाई उम्मेदवार बनाउन माग गरे।

    ‘हामीले सभापतिज्यूलाई भेटेर तनहुँ १ मा युवा उम्मेदवार उठाउन आग्रह गरेका हौं,’ भट्टराईले भने, ‘पार्टीले युवालाई अगाडि बढाउनुपर्छ, समयको माग पनि त्यही हो। नेता/कार्यकर्ताको माग पनि युवालाई राजनीतिमा स्पेश दिनुपर्छ भन्ने नै छ।’

    सभापति देउवाले आफू यस विषयमा सकारात्मक भएको र पार्टीभित्र छलफल गरेपछि मात्रै यस विषयमा निर्णयमा पुगिने जवाफ दिएका थिए। भट्टराई मंसिरमा भएको चुनावमा पनि तनहुँमा उम्मेदवार हुन चाहेका थिए, तर पाएनन्।

    तनहुँ १ मा उपचुनाव लड्न टिकट पाउनुपर्ने दाबी गर्ने अर्का नेता हुन्- रामचन्द्र पोखरेल। ‘तनहुँ १ मा हुने उपनिर्वाचनमा मैले दृढ संकल्पका साथ उम्मेदवारीमा दाबी गरेको छु,’ तनहुँका पूर्व जिविस सभापतिसमेत रहेका उनले भने, ‘२०४६ सालदेखि म प्रत्यक्षतर्फ चुनाव लड्न खोजेको हुँ, त्यो संकल्प अहिले पनि छ।’

    उनले आफूलाई एक पटक प्रत्यक्ष चुनाव लड्ने अवसर दिन पनि पार्टीसँग माग गरिरहेका छन्। ‘एक पटक प्रत्यक्ष निर्वाचन लड्ने अवसर दिइनुपर्दछ भन्ने दाबी मेरो छ,’ उनले भने, ‘म पार्टी केन्द्रदेखि सबै तहका साथीहरूसँग हात जोडेर विनम्र अनुरोध गर्दछु, मलाई न्याय गरिनुपर्छ।’

    पोखरेल तनहुँमा रहेर लामो समयदेखि राजनीति गरिरहेका नेतामध्ये पर्छन्।

    यो क्षेत्रमा उपनिर्वाचन लड्न चाहने अर्का नेता हुन्- गोविन्द भट्टराई। उनले गत फागुन १५ मै सभापति देउवालाई निवास धुम्बाराहीमा भेट गर्दै उपनिर्वाचनमा आफूलाई टिकट दिनुपर्ने विषयमा कुराकानी गरेका थिए।

    भट्टराई कांग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनले गत मंसिरको चुनावमा टिकटमा दाबी गरेका थिए। तनहुँ १ मा उनको नाम पनि पार्टीले उम्मेदवारमा सिफारिस गरेको थियो तर पौडेल नै उम्मेदवार बनेपछि उनी अन्तिममा पछि हटेका थिए। भट्टराई आफूले टिकट पाउनेमा विश्वस्त देखिन्छन्। सभापति देउवाले आफूलाई भेटमा ‘उपनिर्वाचन जितेर आउनुपर्छ है’ भनेको उनले भेटपछि पत्रकारहरूसँग बताएका थिए।

    अर्का केन्द्रीय सदस्य ध्रुव वाग्ले पनि उपनिर्वाचनमा उम्मेदवार हुने पक्षमा छन्। उनी संविधान सभा सदस्य र तनहुँ कांग्रेसका पूर्वसभापतिसमेत हुन्। उनले पनि उपनिर्वाचनमा पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गरिरहेका छन्। मंसिरको चुनावका लागि पार्टीबाट उम्मेदवार सिफारिस गर्दा तनहुँ २ बाट उनको नाम सिफारिस भए पनि उनले टिकट पाएका थिएनन्। आफूहरूले संगठनमा रातदिन नभनी काम गरिरहेकोले उपनिर्वाचनमा टिकट पाउनुपर्ने जिल्ला तहमा रहेर काम गरिरहेका नेताहरूको पनि दाबी छ। तनहुँ १ मा उपनिर्वाचन कहिले गर्ने भन्ने निर्वाचन आयोगले टुंगो गरिसकेको छैन। उपनिर्वाचन मिति तय भएपछि  संसदीय बोर्डमा छलफल गरेर टिकटको टुंगो गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १२:०७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij