२०८२ मंसिर ४ गते बिहिवार
सत्ता गठबन्धनका दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको लागि क्याम्पस भागवण्डा गरेका छन्।उपत्यकाका २२ आङ्गिक र ५ सामुदायिक क्याम्पसको भागवण्डा मिलेको एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।
कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादीको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूबीच काठमाडौँका क्याम्पसहरुको बाँडफाँट भएको हो।
चैत्र ५ गते तय भएको चुनावका लागि २७ फागुनमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारी गर्न सकिनेछ ।
एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार नेविसंघले १३, क्रािन्तकारीले १० र अनेरास्ववियूले ४ वटा कलेज पाउने लगभग समझदारी बनेको बताए।
नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि), त्रिचन्द्र क्याम्पस, शंखरदेव क्याम्पस, पब्लिकयुथ क्याम्पस, पद्यमकन्या क्याम्पस, पशुपति क्याम्पस, विश्वभाषा क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, जनप्रशासन क्याम्पस र चिकित्सा शास्त्र क्याम्पस महाराजगन्ज र नर्सिङ क्याम्पस महाराजगन्ज लिने प्रारम्भिक समझदारी छ ।
अखिल क्रान्तिकारीले अस्कल क्याम्पस, नेपाल ल क्याम्पस, पुलचोक क्याम्पस, थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ क्याम्पस, सानोथिमी क्याम्पस, एनसीसी क्याम्पस, एनआर क्याम्पस र ललितकला क्याम्पस लिने गरी सहमतिको तयारी छ ।
पाटन बहुमुखी क्याम्पस र सरस्वती क्याम्पसमा नेविसंघ र अखिल दुवैको दाबी छ। अनेरास्ववियूलाई आरआर क्याम्पस ताचाल क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस र काठमाडौँ शिक्षा क्याम्पस दिने गरी सहमति भएको छ।
‘अहिले हामी अध्यक्षहरु बैठकमै छौँ, पराजुलीले नेपालखबरसँग भने, अहिलेसम्म ४, १० र १३ मै समझदारीको नजिक छौँ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij