२०८२ मंसिर ५ गते शुक्रवार
काठमाण्डौ किलाघलका स्थानीयबासिन्दाले आज बेलुकी गुरुमापा राक्षसलाई भात खुवाउने जात्रा मनाउँदैछन् । हरेक वर्ष फागु पूर्णिमाको रातमा काठमाण्डौको टुँडिखेलमा गुरुमापालाई भात खुवाउने जात्रा मनाउने परम्परा छ ।
आज बेलुकी ११ बजेतिर किलाघल टोलबाट भातसहित चौरासी व्यञ्जनकाे परिकार तयार गरेर ५, ६ सय स्थानीय बासिन्दाको लावालस्करसहित टुँडिखेलमा गुरुमापालाई भात दिन जाने कार्यक्रम भएको किलाघल टोलका मचाराजा महर्जनले बताउनुभयो ।
किलाघल टोलका स्थानीय बासिन्दाले एक मुरी चामलको भात र एउटा राङ्गोको मासु गुरुमापालाई खुवाउने परम्परा छ । पहिले गुरुमापा नामको राक्षसले काठमाण्डौ उपत्यकावासीलाई दु:ख दिएको र पछि इटुम्बहालका तान्त्रिकले तारण राखेर उनलाई वशमा लिएर वर्षको एकचोटी मानिसको मासुको सट्टा राँगाेको मासु र भात दिने सर्तमा टुँडिखेलमा राखेको जनविश्वास छ । त्यसैको निरन्तरतामा अहिलेसम्म पनि किलाघलका बासिन्दाहरुले हरेक वर्ष गुरुमापालाई मासु र भात दिने गर्दछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij