२०८२ भाद्र ७ गते शनिवार
सम्माननिय राष्ट्रपति ज्यु
सादर नमस्कार
मलाई त सन्चै छ । अहिले मुलुकलाई सन्चो नभएको बेलामा त्यहाँ तपाईंलाई पनि सन्चै होला भन्ने आशा राखेकी छु । राष्ट्र प्रतिको प्रतिकुलता देख्दा यो कलम एकपटक फेरि उठाउन बाध्य भएकी छु । तपाईंसङ्ग केही नभनी, केही नलेखि मलाई बस्नै उकुसमुकुस भएको छ । राष्ट्रिय अभिभावकको नाताले तपाईंसङ्ग गुनासो नगरे, तपाईंसङ्ग नरोए र तपाईंसङ्गै कुरा नराखे अरु कोसङ्ग कुरा राखौं ? लैङ्गीक समानताको ज्वलन्त उदाहरण स्वरुप दक्षिण एसियाकै नमुनाका रूपमा नेपालले तपाईंजस्तो महिला राष्ट्रपति पाउँदा खुसीको सीमा नाघेर उफ्रिने एक महिला म पनि हूँ ।
महिला प्रतिनिधि रास्ट्रको सबैभन्दा उच्च स्थानमा हुँदा एकातिर गर्व महसुस हुन्छ भने अर्कोतिर सानासाना बालिकाहरू दिनानुदिन बलात्कृत भएको खबर सुन्न र देख्न पर्दा लज्जाबोध भएको छ । ९ महिनाको बालिका बलात्कृत भएको सुन्दा के तपाईंको मन काँपेन होला ? दिनदहाडै बलात्कार, बोक्सीको आरोपमा, दाइजो नल्याएको वा कम ल्याएको आरोपमा जबर्जस्ती घाँटी अँठ्याउने, मट्टीतेल खन्याएर जलाउने जस्ता घटनाहरू पढ्दापढ्दा तिलगंगा नै जानुपर्ने गरि आँखा दुखिसकेका छन् । यो जमानामा यो परिवेशमा समेत यस्ता अत्याचार र बलात्कारको खबर आइरहँदा छोरी भएर जन्मिनु पनि धिकार जस्तै भएको छ !
अहिले बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको समाचार आइरहेका छ्न् । तपाईं त देशको चिन्ता गर्ने र माया गर्नुपर्ने दायित्वमा पहिलो नम्बरमा पर्नु भएको छ । मलाई यो कुरामा यति दुःख लागेको छ कि तपाईंले महिला तथा बालबालिकाको दुःख, पीडा र वेदनालाई बुझ्न सक्नुभएको छैन । आजको युगमा नारी देशका अस्मिता, नारी सृष्टिकर्ता, नारी एउटी सौन्दर्यको प्रतिमुर्ती, नारी महान र नारीलाई देवीको रूपमा चिनाउन त सक्छौ । तर हामी नारीहरूले एउटा हिंस्रक पुरुषको अघाडि नारीको पनि अस्मिता, जीवन, इज्जत र प्रतिष्ठा छ भनेर कहिले पनि गर्व गर्न सकेनौं । आज कयौँ स्थानहरूमा बालिकाहरूले आफ्नो अस्मितालाई खुकुरीको धारमा राखेर अमूल्य जीवनलाई मृत्युको मुखमा पुराइरहेका छन् । नारीको जीवन बेचिएको छ, अस्मिता लुटिएको छ । कयौं बालिकाहरू खुलम खुल्ला हिंडडुल गर्न सकिरहेका छैनन् । धेरै महिला तथा बालिकाले अकालमै ज्यान गुमाउनु परेको पिडा त छँदैछ । देशको कानुनी ब्यबस्थाको बारेमा कुरा गर्नुपर्दा विगत ६/७ बर्ष यता लचिलोपन आउने गरेको पाइन्छ । सामुहिक बलात्कार पछि हत्या हुँदा समेत बलात्कारिलाई प्रहरीले पक्राउ नगर्दाको आक्रोश एकातिर छ भने अर्को तर्फ अभियुक्त पक्राउ परिसकेर मुद्दा अदालतमा पुगेपछि पनि सजिलै उन्मुक्ति पाएका सयौं घटनाहरू हाम्रा सामु छन् ।
तत्कालीन समयमा प्रचलित मुलुकी ऐनले १६ बर्ष भन्दा कम उमेरकी बालिकासङ्ग सहमतिमा सम्बन्ध स्थापित गरेपनी जबर्जस्ती ठहरिने ब्यबस्था गरेको थियो भने २०७५ साल भदौ महिना देखियता लागू अपराध संहिताले १६ बर्ष उमेरलाई बढाई १८ बर्ष पुर्याएको थियो । सम्माननीय रास्ट्रपतिज्यु बलात्कार, हत्या हिँसाका भयावह तस्बिर देखिइरहँदा पनि तपाईंजस्तो गरिमामय पदमा रहनुभएकी नारीमा मौनता छाउनु भनेको रहस्यमय कुरा हो । किन चाल्नुहुन्न यस विरुद्ध कदम ? बलात्कारका विरुद्ध प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिने प्रस्ताव पेश गर्दा पनि संसदको कार्य सुचीमा पुगेर पनि विना छलफल रोकिएको थियो । पीडित एक पात्र हो । तपाईंको पनि दिदीबहिनीहरू होलान्, छोरीहरू होलान्, कोहि स्त्री आफन्त होलान् के तपाईंले कहिल्यै पीडितको आफन्तको स्थानमा बसेर पिडा महसुस गर्ने प्रयत्न गर्नुभएको छ ? तपाईंप्रति यस्ता प्रश्न कहिले सम्म गरिरहने हामीले ?
समाजमा बलात्कृत महिलाको इज्जत लुटीएको छ । हिंसाजन्य अपराध गरेपछि अपराधीले दण्ड सजाय पाउनै पर्छ । महिलाको सामाजिक सुरक्षा बारे प्रशस्त वहस र सार्बजनिक छलफलका कार्यक्रमहरू ल्याउन जरुरी छ । तपाईंजस्तो महान र शक्तिशालि नारी आजको समाजमा उभिरहँदा अझैपनि समाजमा अबोध बालिकाहरू माथि बलात्कार हुनु लज्जाको विषय बनेको छ भने यो भन्दा पनि लजास्पद कुरा पिडकलाई कानुनको कठघरामा ल्याउन नसक्नु हो । के अब हामी नारी कयौं चेलीहरू बलात्कृत हुँदै ज्यान गुमाएको घटना सुन्दै, अनि पीडितले न्याय नपाएको हेर्दै, अपराधीलाई कारबाही नगरि खुशी साथ समाजमा स्वागत गरेको हेर्दै रमिते भएर बस्नु पर्ने हो ? आखिर यो अवस्था कहिले सम्म ? अहिलेसम्म माया बिक, निर्मला पन्त, भागरथी भट्ट जस्ता सैयौं चेलिहरू सुरक्षित छैनन् । नेपालमा प्रहरीको विश्लेषण गर्दा विगतका ५ बर्षमा महिला तथा बालबालिका सम्बन्धी घटना ४८ प्रतिशात भन्दा बढीले वृद्धि भएको छ ।
यस्ता सबै कृयाकलापको जानकारी तपाईंलाई थाहा छ । त्यस्तैगरि २२ अप्रिल १९९१ मा महिला बिरुद्ध हुने सबै खालका भेदभाव अन्त्य गर्न सम्मेलनमा सहमति जनाएको थियो । तर त्यस्ता दर्जनौं सम्मेलनमा हस्ताक्षर गरेपनी जबसम्म अबोध बालिकाहरू सुरक्षित महसुस गर्न पाउदैनन् तबसम्म त्यस्ता कुनै पनि हस्ताक्षरको अर्थ रहँदैन । कानुन भनेको राज्य संचालनको मुख्य आधार हो । कानुन भन्दा माथि कोहीपनि हुन सक्दैन । जस्तोसुकै हिंसा र अपराधपूर्ण क्रियाकलाप तथा नियन्त्रणको आधार भनेको नै कानुन हो । तसर्थ अन्यायमा परेकाहरूको आँखामा आँसु नदेखियोस् ! अपराधीलाई कानुन बमोजिम सजाय दिलाइयोस् ! आम नागरिकले तपाईंप्रति बिश्वास गरून् । अबका बाँकी दिन भनेको आन्याय र अत्याचारको बिरुद्धमा हत्कडी लागाउने जिम्मा तपाईंको हातमा छ । हृदयभरी न्यायको आशा लिएर आम नारीहरू र बालिकाहरू न्यायलयको ढोका घच्घच्याइरहेका छन् । सम्माननीय राष्ट्रपति ज्यु अब न्यायलयको ढोका खोलीदिने चेष्टा गरिदिनु होला भन्ने अपेक्षाका साथ मैले झैं आम महिलाहरूले पनि आशाा गरेका छन् ।
उहीँ तपाईंको देशको आशाबादी नारी
(लेखक : त्रिभुवन बिश्वविद्यालय मानवशास्त्र विभाग स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थी हुन् ।)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij