२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । सन् २०१८ देखि सञ्चालनमा आएको पठाओ प्रालिको पठाओ एप डाउनलोड गर्नेको सङ्ख्या ३५ लाख पुगेको छ । यस्तै एक लाख ५० हजार राइडर पठाओमा दर्ता भई सेवा दिइरहेका छन् ।
पठाओले मोटरसाइकल, ट्याक्सी र खाद्य ढुवानी (फुड डेलिभरी)को सुविधा दिँदै आएको छ । हाल पठाओमार्फत दैनिक ७० हजारले सेवा लिइरहेका छन् । पठाओको सेवा चितवन र काठमाडौँमा सञ्चालनमा छ ।
सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर तिनको प्रयोग गर्न बाध्य छन् ।
कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा दर्ता भएका र नभएका राइडरहरू माझ अफलाइनमा मोलमोलाई गर्ने प्रवृत्ति बढ्दो छ । राइडर र व्यक्तिपिच्छे भिन्न भाडादरमा मोलमोलाइ गर्दै गरेको सडक छेउमा जति पनि देख्न सकिन्छ । अर्कोतर्फ यस्ता एप्सले आम सेवाग्राहीको दैनिकी निकै सहज बनाएका छन् ।
युवा माझ मोटरसाइकल आयआर्जनको साधन हुनुका साथै लाखौँ युवा स्वरोजगार पनि भएका छन् । तर यी सेवा कानुनी रूपमा दर्ता, व्यवस्थापन र नियमन नहुँदा सम्भावित दुर्घटना बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।
कम्पनीमा आबद्ध भएका राइडरभन्दा अफलाइनमा चलाउनेको सङ्ख्या बढिरहेको छ । आफूखुसी व्यक्तिगत रूपमा बार्गेनिङ गर्ने प्रवृत्ति बढेको छ ।
यस्तो प्रवृत्तिले लुटपाट र हिंसाका घटना निम्त्याउनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक डा टोकराज पाण्डेले दुर्घटना सुरक्षा जस्ता सवालमा राइडरहरू जवाफदेही हुन नपर्ने अवस्थाले समस्या निम्त्याउने बताए।
पछिल्लो समय खासगरी साँझको समयतिर उपत्यकाका चोकचोकतिर यस्तो अफलाइन बार्गेनिङ भइरहेको देखिन्छ। कलंकी, बाफल, स्वयम्भु, बसपार्क, सामाखुसी, विमानस्थल, कोटेश्वर लगायत मानिसको धेरै चहलपहल हुने क्षेत्रमा यात्रुसँग बार्गेनिङ गर्दै बसेका प्रशस्तै दुईपांग्रे चालक देख्न सकिन्छ। यस्ता व्यक्तिहरू काठमाडौँ विमानस्थलको पार्किङमा जति पनि फेला पार्न सकिन्छ ।
पेट्रोलको भाउ महँगिएको तर पठाओको शुल्क पुरानै भएका कारण आफूहरू अफलाइन विकल्प रोज्न बाध्य भएको एक पठाओ चालक बताउँछन्। छोटो अवधिमै लोकप्रिय बनेको पठाओको बजार धेरै खस्किसकेको त छैन। तर पछिल्लो समय पठाओ चालकले चोक तथा गल्लीमा गर्ने बार्गेनिङका कारण कतिपय यात्रुहरू आजित छन्।
राइड सेयरिङ कम्पनी आएर ट्याक्सीको मोलमोलाइ हटेपछि राहतको सास फेरेका कतिपय ग्राहक भने झनै नयाँ रूपको मोलमोलाइको सिकार बन्नु परेकोमा चिन्तित देखिएका छन्।
अफलाइन मोलमोलाइ प्रवृत्तिले एकातिर यात्रुको असुरक्षा बढाएको छ, अर्कोतर्फ कम्पनीप्रतिको विश्वास पनि घटाइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij