२०८२ मंसिर ५ गते शुक्रवार
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
जारी बैठकमा सांसदहरुले जनजीविकाका बिषयबस्तु उठाएका छन्। साथै बैठकको शून्य समयमा उठाएका बिषयमा सरकारले जवाफ नदिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।
त्यस्तै ग्यास लिक भएर आगलागीमा परी घाइते भई भारतमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना पनि सांसदहरुले गरेका छन्।
बैठकमा सांसद तोसिमा कार्कीले ललितपुर क्षेत्र सरकारको दृष्टिमै नपरेको भन्दै नख्खु भैसीपाटी लगायत ललितपुरका अन्य सडक निर्माणको लागि ध्यान दिन सरकारसँग आग्रह गरिन्। सडक विभाग र खानेपानी निकायले काम गर्न नसक्नु कसको कमजोरी हो? भनेर सदनमा प्रश्न गरिन्। यस्तै सार्वजनिक निर्माण र ढिलासुस्ती अन्त्यको पनि उनले माग गरेकी छन्।
सांसद दिपक खड्काले संखुवासाभाको किमाथाङकादेखि जोगबनी सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद दिलेन्द्र बडुले संसद बैठकको शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको जवाफ सरकारकाले दिनुपर्ने माग गरेका छन्।
सांसद देव प्रसाद तिमिल्सिनाले उपचाररत सांसद चन्द्र भण्डारीको स्वाथ्य लाभको कामना गर्दै रौतहटको बिकास निर्माणमा बिलम्ब भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद धनराज गुरुङले मुलुक चरम आर्थिक संकटमा गुज्रिएको भन्दै ठूला भ्रष्टाचारको काण्डको छानबिन गर्नुपर्ने आवज उठाए। उनले जुनसुकै राजनीतिक दलको भएपनि.भ्रष्टाचार काण्डको छानबिन गरी मुलुकमा आर्थिक सुशासन कायम राख्नुपर्नेमा उनले जोड दिए।
सांसद नागिना यादवले देशभरका स्थानीय तहमा इन्धनमा मात्रै ६० देखि ७० लाख बार्षिक खर्च भएको भन्दै इलेक्ट्रिक भेइकलको प्रयोलाई प्रोत्साहन दिन सदन मार्फत सरकारसँग आग्रह गरिन्।
नारायण प्रकाश साउद (एनपी) ले सांसद चन्द्र भण्डारीको स्वाथ्य लाभको कामना गर्दै परिवारप्रति समवेदना प्रकट गरे। उनले सांसदका प्रश्न र जिज्ञासाको जवाफ सरकारले नदिएको प्रति आपत्ति जनाए। उनले बैठकमा भने, ‘संसदीय अभ्यासमा शून्य समयको महत्व छ, देशभरका समस्या १ मिनेटमा भन्नुपर्ने हुन्छ,तर सरकारले जवाफ नदिँदा यसको गरिमा घटेको छ।’
प्रकाश ज्वालाले देशलाई लाइनमुक्त भनेर घोषणा गरेपनि व्यवहारमा जनताले लाइन बस्नुपर्ने सास्तीबाट मुक्ति नपाएको तर्क गरे।
उनले भने, ‘मन्त्री, सांसद र चिनेजानेका व्यक्ति नहुनेहरु सिँहदरबारभित्र प्रवेश गर्न पाउँदैनन, जनतालाई प्रताडित गर्नुभएन, सभामुखले आजै रुलिङ गर्नुपर्यो कि सिँहदरबारभित्र नागरिकलाई सहज प्रवेश होस् भनेर।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij