२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा १४ हजार ७५० शिक्षक दरबन्दी रिक्त छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै १२ हजार ६१ शिक्षक दरबन्दी रिक्त रहेको विवरण शिक्षक सेवा आयोगमा पठाएको छ ।
प्राथमिक तहमा नौ हजार १०६, निम्न माध्यमिक तहमा एक हजार ९१३ र माध्यमिक तहमा एक हजार ४२ शिक्षक दरबन्दी रिक्त रहको विवरण आयोगमा पठाइएको केन्द्रका निर्देशक वसन्त कोइरालाले जानकारी दिए । केन्द्रका अनुसार आन्तरिक बढुवातर्फ दुई हजार ६८९ दरबन्दी रिक्त छ ।
आन्तरिक बढुवातर्फ प्राथमिक प्रथममा तीन सय ८४ र द्वितीयमा एक हजार ३२५, निमावि प्रथममा ६९ र द्वितीयमा ३६४ तथा माध्यमिक प्रथममा ९९ र द्वितीयमा ४४८ पदपूर्ति हुन सकेको छैन ।
ठूलो संख्यामा दरबन्दी रिक्त भए पनि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त नहुँदा विज्ञापन गर्न सकिएको छैन ।
रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्न आयोगले प्रक्रिया अघि बढाए पनि आयोग पदाधिकारीविहीन हुँदा तत्काल विज्ञापन गर्ने अवस्था नरहेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।
केन्द्रले आयोगलाई रिक्त शिक्षक दरबन्दी संख्या उपलब्ध गराएपछि आयोगले आन्तरिक बढुवा तथा खुलातर्फ विज्ञापन गर्नुपर्ने कानुनी प्रावधान छ ।
मरहठ्ठाले भने, ‘देशभर तत्काल पदपूर्ति गर्नैपर्ने शिक्षक दरबन्दी संख्या धेरै छ तर आयोग पदाधिकारी नियुक्ति नहुँदा शिक्षक छनोटका लागि तत्काल विज्ञापन गर्ने अवस्था छैन ।’
आयोगले अबदेखि निमावि र मावि शिक्षकको विज्ञापन प्रदेशअनुसार गर्ने भएको छ । यसअघि दुवै तहको विज्ञापन विकास क्षेत्रअनुसार गरिँदै आएको थियो ।
शिक्षक सेवा आयोग नियमावली दसौं संशोधनमा प्रदेशअनुसार विज्ञापन गर्ने व्यवस्था छ । प्रावि तहको विज्ञापन भने जिल्लागत रूपमा हुँदै आएको छ ।
शिक्षा ऐनअनुसार विद्यालय तहको संरचना आधारभूत र माध्यमिक गरी दुई तहको छ । तर शिक्षा सेवा आयोग नियमावली, २०५८ र शिक्षक सेवा आयोग कार्यविधि, २०५९ को व्यवस्थाअनुरुप तीन तहमा विज्ञापन गरिँदै आएको छ ।
शिक्षा मन्त्रालयले कक्षा १२ सम्मका लागि समेट्ने गरी विज्ञापन गर्ने बताउँदै आए पनि अहिलेसम्म १२ कक्षासम्म पढाउनका लागि कुनकुन विषयमा कस्ता शिक्षक आवश्यक पर्छन् भन्ने टुंगो लगाइसकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij