२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विचारधारालाई प्रभावकारी बनाउन चार तहको पाठ्यक्रम लागु गर्ने भएको छ । पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागु गरिने तय भएको माओवादी केन्द्र स्रोतले जनाएको छ ।
जसअनुसार तत्काल माध्यामिक तहको पाठ्यक्रमअनुसार देशभर प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । स्कुल विभागका प्रमुख तथा उपमहासचिव गिरिराजमणि पोखरेलको अध्यक्षतामा हालै बसेको बैठकले कार्ययोजना तय गर्दै चार तहको पाठ्यक्रमलाई लागू गर्ने निर्णय गरेको हो।
बैठकले सबै प्रदेशका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ । जसअनुसार प्रदेश १ मा फागुन १४, १५ र १६ गते, गण्डकी प्रदेशमा फागुन १९,२० र २१ गतेका लागि तय गरिएको छ । यसैगरी लुम्बिनी प्रदेशमा फागुन २४, २५ र २६ गते, कर्णाली प्रदेशमा फागुन २९, ३० र चैत १ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रमको तालिका तय गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा चैत ४, ५ र ६ गते, मधेस प्रदेशमा चैत ९, १० र ११ गते, बागमती प्रदेशमा चैत १४, १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा चैत १७, १८ र १९ गते, सम्पर्क समन्वय प्रदेश समितिमा चैत २०, २१ र २२ गते र प्रवास समन्वय प्रदेशमा चैत २३ देखि हरेक दिन २ घण्टाका दरले एक साता गर्ने तय भएको एक नेताले जनकारी दिए ।
ती नेताका अनुसार प्रशिक्षण कार्यक्रमा प्रत्येक पालिकाबाट १ जना, प्रत्येक जिल्लाबाट ५ जना र प्रदेश स्कुल विभागबाट सबै जनाको अनिवार्य उपस्थिति हुनुपर्ने नियम बनाइएको छ । प्रशिक्षणको व्यवस्थापन सम्बन्धित प्रदेशले गर्नेछ भने प्रशिक्षण, पाठ्यक्रम र कक्षासम्बन्धी अन्य व्यवस्था केन्द्रीय स्कुल विभागले गर्नेछ ।
माओवादीका अनुसार आधारभूत तह (पाठ्यभार ३२ घण्टा), माध्यामिक तह (पाठ्यभार ४२ घण्टा) र उच्च तह (पाठ्यभार ४२ घण्टा) रहनेगरी पाठ्यक्रम तयार गरिएको छ । यस्तै अनुसन्धानात्मक तहमा समकालीन मुद्दामा केन्द्रीत रहेर अनुसन्धान गर्नेगरी पाठ्यक्रम बनाइएको छ ।
यस्तै स्कुल विभागले छनोट गरेका विषयहरुमा केन्द्रीत रहेर अनुसन्धानको कामलाई अघि बढाउने योजना पनि बनाइएको छ । अनुसन्धानको कार्य गर्दा केन्द्रीय स्कुल विभागका सदस्यहरू र विषयविज्ञहरु रहने गरी कार्यदल, संरचना रहने बताइएको छ । यस्तै कक्षा सञ्चालन गर्दा केन्द्रीत तहमा २ वटा चच्च तहको कक्षा सञ्चालन गरिने छ भने प्रदेश तहमा वर्षमा एउटा मध्यम तहको कक्षा सञ्चालन गरिनेछ । यसैगरी पालिका तहमा वर्षमा एउटा आधारभूत तहको कक्षा सञ्चालन गर्ने माओवादी केन्द्रको योजना छ ।
यसैबीच विभागले हाललाई माध्यमिक तहको पाठ्यक्रम तयार गरेको छ । जसमा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादलगायतको शीर्षका सविस्तार अध्यापन गराइने माओवादीको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij