२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नयाँबजार स्थित मनास्लु पब्लिक मा.वि.ले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही माघ २८ गते शनिवारका दिन विद्यालय प्राङ्गणमा भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सवनम भट्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव तथा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी रहनुभएको थियो ।
प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै डा. अवस्थीले विद्यालय शिक्षाको स्तर उन्नतिमा मनास्लु पब्लिक मा.विले उल्लेखनीय भूमिका खेलेकोे तथा आगामी दिनमा पनि विद्यालयले युग सुहाउँदो ज्ञान र सीपमूलक शिक्षाप्रदान गर्ने विश्वास व्यक्त गर्नुभयोे । विद्यालयकी प्राचार्य सुचिता शाक्यले आफ्नो मन्तव्य मार्फत उपस्थित महानुभावलाई स्वागत गर्नुभयो । विद्यार्थी र अभिभावक भएको कारणले नै मनासलु स्कुल पनि रहेको धारणा राख्दै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक र कर्मचारी सबैको सहअस्तित्व र सहकार्यमा मात्रै सबैको हीत हुने बिचार व्यक्त गर्नुभयो ।
मनासलु एजुकेशनल इन्ष्टिच्यूट प्रा.लि का अध्यक्ष हरिप्रसाद भट्टले शुभकामना सन्देश बाचन गर्नुभएको उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु काप्रीले विद्यालय र अभिभावक विचको अन्तरसम्बन्धको महत्वमाथि प्रकाश पार्दै आगन्तुक अतिथि तथा अभिभावकहरूको स्वागत गर्नु भएको थियो ।
विद्यार्थीहरूद्वारा विविध साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको २२ औं अभिभावक दिवस तथा वार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक सञ्जय गुरूङ, श्रीदेवी देवकोटा, सुष्मा लामा, केसी माया रामदामको विशेष साँङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो ।
विद्यालयका संयोजक नबराज भट्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू, शिक्षाविद्हरू, सामाजिक अभियन्ता, राजनितिज्ञ, नीजी शैक्षिक संस्थाका अग्रजहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक जे.वी दवाडीले उपस्थित महानुभाव तथा कार्यक्रमलाई सफल ढंगले सम्पन्न गर्न आ–आफ्नो स्थानबाट उल्लेख्य भूमिका खेल्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij