२०८२ भाद्र २ गते सोमवार
एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क घटेको छ। बैंक तथा वित्तीय संस्थाले अन्तर एटीएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् । यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो।
राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमार्फत अन्तर एटीएम कारोबार शुल्क घटाइएको हो । ‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’ एकीकृत निर्देशिकामा भनिएको छ ।
शुल्क घटाएसँगै राष्ट्र बैंकले हरेक अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो।
यस्तै, बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोवाइल एप्लिकेशन (एप) वा इन्टरनेट बैंकिङ मार्फत विद्युतीय रकमान्तर (इन्टर बैंक फण्ड ट्रान्सफर) गर्दा सेवा प्रदायकहरूले प्रतिकारोबार अधिकतम १० सम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यसअघि यस्ता कारोबार गर्दा लिने शुल्क राष्ट्र बैंकले तोकिदिएको थिएन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij