२०८२ भाद्र ४ गते बुधवार
भ्यू टावर वाइल्ड एन्ड क्याटल प्रडक्ट, गोलढुङ्गा, ढुङ्गाना थोकका सञ्चालक हुन् उनी । उनी अर्थात् सुदर्शन ढुङ्गाना ।
हाल चौतारा–साँगाचोक न.पा. –३, तथा साविकको बतासे गा.वि.स.– ६ निवासी ढुङ्गाना आम बुझाइको हिसाबले कुनै चर्चित दर्जाका नागरिक होइनन् । अर्थात् कुनै दलाल, ठेकेदार, भ्रष्टाचारी, अनाचारी र तिनको आवरणमा राजनीतिमा फड्को मार्ने अमान्छे होइनन् किन्तु सङ्घर्षमय आँधीबेहरी छिचोलेका एक ऊर्जाशील, आँटिला र भरोसालाग्दा युवा भने अवश्य हुन् ।
उनी यो विद्रूप कालखण्डका एक उदाहरणीय, नमनीय र उदात्त युवक हुन् जसले सङ्घर्षलाई आफ्नो असल प्रेमी बनाएका छन् । तीनवर्षे बालवयमै टुहुरा भए उनी । बुवा महेन्द्रप्रसाद ढुङ्गाना एक मामुली कृषक र साधारण भरिया । बनीबुतो गरेर हब्बेहब्बे पाल्दै गरे चार सन्तान । कामलाई नै रामरमाइलो मान्ने परन्तु प्रारब्धले एककाँधे बनाइएका उनी यो राज्यमा ओत लाग्ने आम मान्छेझैँ थिए । आधा वर्षभन्दा बेसी खान पुग्दैनथ्यो, आफ्नो रेखोपाखोको उब्जनीले । पेटपूजाकै निम्ति कहिले कृषि कामको खेताला बन्थे त कहिले महाबौद्ध, असन वा इन्द्रचोकमा कुल्ली ।
राजधानीतिरबाट गाउँ फर्कनेहरूले लगाएका किमती परिधानले प्रचुर मात्रामा प्रभावित पाथ्र्यो उनको बालमनलाई । अभिलाषा जाग्थ्यो– त्यस्तै लगाउन पाए ! तथापि घरको आर्थिक हैसियत तगारो बनेको थियो जसलाई हम्मेसि बुझ्न कठिन थियो एक शिशुले । उमेर बढ्दै जाँदा सहर जानु भनेको सुटेडबुटेड बन्न पाउनुरहेछ भन्ने मनोविज्ञानले घर गर्न थाल्यो, उनको अन्तरहृदयमा । सहोदर दाजुको सहयोगमा हानिए नेपाल खाल्डो । उनी पूर्णतः बेखबर थिए– यो खाल्डोमा छिरेपछि कहरको भँड्खालोमा भासिएका अनगिन्ती जीवनबारे । पढ्ने रहर त छँदै थियो । भर्ना भए, बाँसबारी मा.वि.मा कक्षा चारमा । अबको दैनिकी होटलको मसल्ची । पढाइ दोस्रो प्राथमिकतामा मात्र । दुई बर्से अवधि गुजारे तर विद्यालय जाने र सिक्ने कुरा हात लाग्यो शून्य । बाध्यताका सामु उनका सारा रहरले घुँडा टेकिसकेका थिए । जुन कुरा सिकाउँदै थियो जिन्दगीले कहीँकतै भेटेनन् उनले कक्षाकोठामा पढ्ने पुस्तकमा ।
पाठशाला परिवर्तन भयो । नहोस् पनि किन ? समुत्तीर्ण भए पो ! छ कक्षामा भर्ती भए श्रम राष्ट्रिय मा.वि.मा । पेसा फेरि उही । पास हुनु कसरी ? अङ्ग्रेजी ’छ’लाई नेपाली ’सात’ हो भन्ने बनाएर आठ कक्षामा कक्षोन्नति भए बालसेवा मा.वि., झोछेंमा । त्यहाँ पनि कथा उही नै थियो किनकि पेसा उही । कक्षा नौमा आए प्रभात मा.वि., नःघलमा । विद्यालय चहार्दै हैरान । प्रभातमा पनि अनियमित उपस्थिति । हकार्न थाले शिक्षकले । अब चाहियो बहाना । मिल्यो पनि, बिरामी परेको भन्ने । अरु साथी–सँगाती विद्यालय पोसाकमा, आफू मनलागी । ड्रेस भए पो ! न त ड्रेस किन्ने दाम नै । झुट पनि कति बोल्ने ! कम्तीमा पत्यारिलो त हुनुप¥यो । आफैँ लडाएर ‘कठै ! कतै चोट त लागेन ?’ भन्नेहरू पराया नभई आफ्नै थिए तथापि पैसाको उपादेयता बुझेकाले लेखा विषयमा भने विशेष अनुराग थियो उनको । अनुराग मात्र हो र ? विद्यालयकै सर्वोत्कृष्ट, त्यो पनि प्रवेशिका परीक्षामा ! यति बेलासम्म उनलाई अनुभूति भइसकेको थियो– ‘कामप्रतिको मोहले जब मान्छे सखारै ब्युँझन्छ नि तब सफलता टाढा छैन ।’
एउटा शिशुले गरेका यी निकृष्ट कामले हनन भएको उनको मानवाधिकारबारे बोल्ने कुनै व्यक्ति वा निकाय निस्किएनन् ऊ बेला । चप्पल चुँडिएको थाहा पाएपछि एकाघरका सदस्यले पनि बाटोमा सिसा फुटाउन थाल्दारहेछन् भन्ने थाहा भो उनलाई । आफ्नै सहोदरहरूले समेत कापीकलम किन्ने पैसा दिएनन् । बरू बोझिल ठाने उनलाई । लाग्थ्यो– ‘बाटो चिनेर मात्र होइन मान्छे चिनेर पो हिँड्नुपर्छ यदाकदा ।’ भोको पेट र रित्तो जेबले शनैःशनैः सिकाउँदै गयो जिन्दगीको अर्थ । ‘रेडी टू फ्राई’ भन्ने पुल्चोकमा अवस्थित उति बेलाको सानो रेस्टुरेन्टको भुइँमा नाम मात्रको बिस्तरा बिछ्याएर बेगिन्ती रात बिताए उनले ।
सोधीखोजी गरेनन् आफ्नैले तत्क्षण । चोट लाग्यो र त्यहीँबाट अन्तरहृदयमा छिर्न थाल्यो सङ्घर्षको प्रकाश । यस्तो अनुभूत हुन्थ्यो– सङ्कटमा परेको हात्तीलाई भ्यागुताले पनि लात हान्छ । कामबापतको वेतन मासिक १३००÷– रुपैयाँ मात्र । धन्न केही दिनपछि उनको पदोन्नति भयो मसल्चीबाट बेयरामा । त्यसका बाबजुद साह्रै हेपाइ खाएको अनुभूति भएपछि केही समय नोकरी नै छाडे । तर के गर्नु ? पेटका मारे हेपाइ फुच्चे भयो र आए मेला रेस्टुरेन्टमा । त्यहाँ ‘नि खासै फरक थिएन नोकरी । काम उही बेयराकै र तनखा चानचुन २५००÷– रुपैयाँ जोरजाम गर्दा । छोड्दै र पुनः जोडिँदै उनले झण्डै तीन वर्ष बिताए त्यहाँ ।
समयको अन्तरालसँगै चिनिँदै गए मान्छेहरू पनि । उदाङ्गिँदै गए छद्म चेहराभित्रका असली चेहराहरू । त्यसपछि नियुक्त भए नमस्ते पार्टी प्यालेसमा । तर डेढ महिनामै फेरि स्थानान्तरण भए फर्चुन गजल रेस्टुरेन्टमा । यसरी बारम्बार अधीर हुनुको एउटै कारण थियो, अघिल्लोभन्दा आकर्षक आय खोज्ने अभीष्ट । त्यहाँ काम गर्ने दर्मियानमा एक दिन एकजना अपरिचित ग्राहकले स्थानीय पोलीक्लिनिकमा खाजा मगाए । नक्कली रहेछन् उनी । कसरी जान्नु ठ्याक्कै उत्निखेरै ? तुरुन्त पैसा माग्दा ‘फेरि अर्को लट ल्याऊ अनि एकैचोटि पूरै हिसाब मिलाउँला’ भने । सोझा ढुङ्गाना पछिल्लो ‘अर्डर’को खाजा लिन मात्र के हिँडेका थिए त्यो लुच्चो त फरार भइ पो सकेछ । अक्क न बक्क भए उनी । अवाक् पनि ! सजायस्वरुप सञ्चालकले सो रकम उनको मासिक वेतनमा काटिदियो । निरास ढुङ्गानाले त्यो ठाउँ पनि छोडे र बाटो लागे ब्रिक्स क्याफे, कुपन्डोलतिर । त्यहाँ भने उनको तलब सालाखाला ७,०००÷– रुपैयाँ पुग्यो । मखलेल बने उनी ।
यसरी जिम्मेवारी सम्हाल्ने सिलसिलामा रहरहरू कता छुटे पत्तै पाएनन् । झण्डैझण्डै आधा दर्जन वर्ष यसैमा व्यतीत गरे । यसैबीच प्रवेशिका परीक्षामा पनि सफल भए । तर स्कुलको परीक्षा जस्तो सहज कहाँ हुँदोरहेछ र जिन्दगीको परीक्षा ! उमेर विवाहयोग्य भइसकेको थियो । मागी विवाह हुने भयो साँगाचोकगढी– ५ की सजिना अधिकारीसँग । दुवै जना हेलाहोचोबीच हुर्केका । उही तहको शैक्षिक योग्यता । अब एकको ठाउँमा दुई हुने निधो भयो । होस्टेमा हैसे हुने । हर्षित भए । बिहेपछि पनि २०७५ सम्म भने यतै रल्लिए ।
भनिन्छ, कमाइ समुद्रको पानी जस्तै हो जति धेरै पियो उति नै बेसी लाग्छ तिर्खा । ठ्याम्मै लागू भयो उनमा पनि यो आहान । आम्दानीको हिसाबले उनको यात्रामा केही पृथक्पन भने आयो । उनी हठात् प्रबन्धकमा पदोन्नति भए ललितपुरको बखुन्डोलस्थित वुमी फाइन डाइन एन्ड हस्पिट्यालिटीमा । मासिक ३०,०००÷– रूपैयाँ वेतन । जीवनमै पहिलो पटक यति आकर्षक आम्दानी ! र,पनि टिक्न हम्मे भो तीन महिना बेसी । अब लागे अन्डाको मात्र परिकार बन्ने ’क्याप्टेन एग रेस्टुरेन्ट’तिर । त्यहाँ उनको अभिभारा थियो– प्राधिकारी महाप्रबन्धक । तनखा पनि ४०,०००/- रूपैयाँ । दुई वर्ष उनले पूर्ण अख्तियारसहित सुसञ्चालन गरे रेस्टुरेन्ट । जसरी सुकेको डालीमा सुस्ताएको चराले डालीमा नभई आफैँमा भरोसा गर्छ, उनले पनि गरे त्यसै ।
जीवनलाई सङ्घर्षपूर्ण यात्रा बुझेका उनले हार मानेर बस्न किमार्थ रुचाएनन् । निकै फरक थियो दुनियाँले देखिरहेको ‘उनी’ र आफैँले भोगिरहेको ‘उनी’मा । आँसुको ब्याज तिरेर पनि खुसी किन्न नसक्ने देखेपछि आफैँले केही न केही व्यवसाय गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे । पृथक् ढङ्गले सोचे । मनमा सुझ्यो– बहुआयामिक खालको व्यवसाय किन नगर्ने ?
चानचुन ७० लाख लगानी गरी १५ रोपनी जग्गा भाडामा लिए, १० वर्षका निम्ति । थाले– अमेरिकी हाँस पालन । अनि बिस्तारै कालिज पालनको आरम्भ गरे । उता शेयर मार्केटतिर पनि जमेकै थिए । चिची पनि, पापा पनि । शेयर कारोबारमा अनपेक्षित र अकल्पनीय बढोत्तरी थियो । गोडा पाँचेक लाखको त सेकेन्डरी शेयर पनि थियो । अलिअलि आफन्तबाट ऋणपान गरेरै सञ्चालन गरे पनि व्यवसाय फलिफाप हुने दिशामा उन्मुख थियो । टुहुराको दिन फर्कँदा ! उनको यो ईष्र्यालाग्दो आकस्मिक आर्थिक प्रगतिको राज धेरै दिन टिक्न सकेन । २०७८ सालको चैत्र ३ गते बर्ड फ्लुको प्रकोपका कारण ५०० भन्दा बेसी कालिजलाई प्रहरीले आफ्नै नजरअघि खाल्डोमा हालेको दृश्य यति असह्य र हृदयविदारक भयो कि त्यही दृश्यले उनलाई अवसादमा धकेल्यो । इन्तु न चिन्तु भए कैयौँ दिन ।
दबाईको टेको लिनुपर्यो । बल्लतल्ल मानसिक अवसाद त निमन भयो किन्तु व्यवसायले अपेक्षित फड्को मार्न अझै सकेको छैन । तर रतिभर खाएका छैनन् हरेस । आधाजसो चल्ला मर्ने, सुविधाजनक सडक नहुनाले दाना ढुवानीमा सकस, ग्राहकको आवतजावतमा कठिनाइ जस्ता दर्जनौं तगारा छिचोल्दै खाजाघर र घरबास(होम स्टे) बनाउने उनको इरादा अहिले पनि जस्ताको तस्तै छ । वर्तमानमा देखिएको मन्दीमा सुधार आउनासाथ व्यवसाय पुनः जुर्मुराउनेमा उनी ढुक्क छन् । क्षतिपूर्तिको रकम मात्र आए पनिस्थानीय जातको कुखुरा पालन समेत गर्ने सोचमा छन् उनी । त्यसो त दुखजिलो गरेरै किन नहोस् साझेदारीमा पौने एक रोपनी जग्गा पनि जोडेका छन् । यही इरादा उनको खुसी लेख्ने सिसाकलम र दुःख मेट्ने मेटक बन्नेमा आशावादी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij