Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

१५औँ महाधिवेशनको सभापतिमा धनराजले गरे शेखरलाई प्रस्ताव, गगनको समर्थन

१५औँ महाधिवेशनको सभापतिमा धनराजले गरे शेखरलाई प्रस्ताव, गगनको समर्थन


  • 1.4K
    Shares

    १५औँ महाधिवेशनको सभापतिमा धनराजले गरे शेखरलाई प्रस्ताव, गगनको समर्थन

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेता डा. शेखर कोइरालालाई १५औँ महाधिवेशनमा सभापतिको उमेदवार बनाउने प्रस्ताव गरेका छन् । आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको संस्थापनइतर समूहको बैठकमा उनले महामन्त्री गगन थापाको स्वीकृति लिएर उमेदवार प्रस्ताव गरेका हुन् । महामन्त्री थापाले पनि उपसभापति गुरुङको प्रस्तावमा सहमति जनाएका छन् ।

    “हाम्रो समूहबाट १५औँ महाधिवेशनमा सभापतिको उमेदवार शेखर कोइरालालाई अघि सारौँ र आजैदेखि रूपान्तरण र पुस्तान्तरणका मुद्दा लिएर जाँऔँ,” गुरुङले बैठकमा भने, “समयमा सहमति गरेर अघि बढ्न सकेनौँ भने भोलि मलाई पनि आकांक्षा जाग्न सक्छ । महामन्त्री गगनजीलाई पनि आकांक्षा जाग्न सक्छ । त्यसले फेरि पनि हामी एक हुन नसक्ने अवस्था आउन सक्छ ।” उनले त्यसो भन्दै गर्दा महामन्त्री थापाको पनि राय लिएका थिए ।

    “आज समझदारी गरे अघि बढिएन भने भोलि आउने फरक परिस्थितिमा हामीहरू नै फरक ठाउँमा उभिने अवस्था आउन सक्छ, कि कसो गगनजी ?”

    धनराजले त्यस्तो प्रश्न गरेपछि महामन्त्री थापाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, “ठिक हो, अहिलेदेखि नै तयारीमा लाग्यौँ भने भोलिको दिन हाम्रा लागि सहज र सुनिश्चित हुन्छ ।” ती सहभागीका अनुसार त्यस समयमा शेखर मौन बसेर उनीहरूका कुरा सुनिरहेका थिए । प्रतिक्रिया जनाएनन् ।

    एक वर्षअघि सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा शेखरले ‘एकपटक यसैपटक’ भन्ने नारा दिएका थिए । त्यति बेला कांग्रेसको संस्थापनइतर पक्ष बलियो अवस्थामा थियो । तर, आफ्नै समूहमा आएको विभाजनका कारण नेताहरू सभापतिमा शेरबहादुर देउवालाई जिताउन प्रत्यक्ष/परोक्ष रूपमा लागेका थिए ।

    सभापतिको आकांक्षी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको उमेदवार चुन्न आफ्नै समूहको समर्थन नपाएपछि महाधिवेशनको प्रक्रियामै सामेल भएनन् । उनी महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भएर घर फर्किएका थिए । महाधिवेशनको चुनावी प्रक्रियामा सहभागी भएनन् । तर, उनले सभापति देउवासँग भेटेर परिवारसहित खिचाएको फोटो सार्वजनिक भएको थियोे । त्यसपछि पौडेल उनकै पक्षमा उभिएको सन्देश गयो, जसलाई उनले त्यसयताका गतिविधिबाट पुष्टि गरिसकेका छन् ।

    सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंहले पहिलो चरणमा आफ्नो ‘स्ट्रेन्थ’ देखाउन भोट संकलन गरेर दोस्रो चरणमा देउवालाई खुलेरै समर्थन गर्दै उनका पक्षमा उभिए ।

    तत्कालीन महामन्त्री डा. शशांक कोइराला शेखरको कार्यक्रममा सहभागी हुन आउने जानकारी गराई बालुवाटारमा गएर देउवासँग फोटो खिचाएर सार्वजनिक गरे । यी सबैको भोट देउवातर्फ मोडिँदा शेखर दोस्रो चरणमा सभापतिमा देउवासँग पराजित भएका थिए ।

    गएको मंसिर–४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको संसदीय दलको निर्वाचनमा शेखरले गगन थापालाई अघि सारे । त्यस बेला नै महामन्त्री थापाले शेखरलाई १५औँ महाधिवेशनको सभापतिका रूपमा प्रस्ताव गर्ने सहमति जनाएको अनौपचारिक सूचना बाहिरिएको थियो । शेखर समूहका नेताहरूका अनुसार शेखर र गगनसहित केही नेताबीच भएको उक्त समझदारी गगनले बसेरा होटेलको सामूहिक छलफलका क्रममा सार्वजनिक गर्दै त्यसमा प्रतिबद्धता समेत जनाएका छन् ।


    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १२:४४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij