२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । मातातीर्थकी २० वर्षीया शैला चौधरी मेहनती विद्यार्थी हुन् । तर डाक्टर बन्ने उनको सपना पूरा भएन। छात्रवृतिमा नाम ननिस्किएपछि आफ्नै खर्चमा एमबीबीएस अध्ययन उनका लागि सम्भव भएन।
सरकारी जागिरे उनका बुवा सिमानन्दले उनलाई बीबीएस पढेर लोकसेवा दिन सुझाव दिए। कुनै पनि अवसरलाई अन्तिम अवसर नठान्ने शैलाले बुवाको सुझाव अनुशरण गरिन्। शंकरदेव क्याम्पसमा बीबीएसका लागि भर्ना भइन्।
तर भर्ना भएको केही महिनापछि सिमानन्दले अखबारमा बागबजारस्थित त्रिभुवन विश्वविद्यालयको सरकारी क्याम्पस पद्ममकन्या बहुमुखी क्याम्पसमा ब्याचलर इन पब्लिक सर्भिस एण्ड गर्भनेन्स् ९बीपीएसजी० विषयको चार वर्षे (समेष्टर प्रणाली) शैक्षिक कार्यक्रम सञ्चालन हुन लागेको विज्ञापन देखे ।
तत्काल शैलालाई यसबारे बताए । आफू सरकारी जागिरे भएकाले यो कार्यक्रमको महत्व बुझ्न शैलाको बुवालाई धेरै समय लागेन। शैला पनि उत्साहित भइन् । शैला तत्कालै पद्मकन्या पुगिन् ।
भर्नाका लागि फारम भरिन् । प्रवेश परीक्षामा उनको नाम सहजै निस्कयो । बीबीएस अध्ययन गरेपछि फेरि शैलाले लोकसेवाको तयारी गर्नुपर्थ्यो। त्यो झन्झटबाट आफू मुक्त भएको शैलाले अनुभव गरिन् ।
बीपीएसजीका विद्यार्थी र पद्मकन्या क्याम्पस सहायक प्रमुखसहितको टोली फिल्ड भिजिटका क्रममा काभ्रेको धुलिखेलमा ।
नेपालमै पहिलो पटक पद्मकन्या क्याम्पसले महिला सशक्तिकरणलाई लक्षित गरेर गत वर्षदेखि यो कार्यक्रम सुरु गरेको हो । कोर्षमा ६० प्रतिशत बाह्य मूल्याङकनबाट नम्बर दिइन्छ भने ४० प्रतिशत आन्तरिक मूल्याङकनबाट दिने चलन छ ।
क्याम्पसले स्वायत्ततामा गइसकेपछि सुरु गरेको कोर्ष भएकाले परीक्षा लिने र नतिजा प्रकाशन गर्ने जिम्मेवारी पनि पद्मकन्याकै हो । प्रमाणपत्र भने त्रिभुवन विश्वविद्यालयले दिनेछ। यो कोर्षलाई त्रिविको प्राज्ञिक परिषद्को कार्यालय कीर्तिपुरबाट अनुमोदन गरेको हो ।
कार्यक्रमका संयोजक एवं क्याम्पसका सहायक क्याम्पस प्रमुख राजु मल्ल दक्ष महिला जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेजले कोर्ष शुरु गरेको बताउँछन् । उनी भन्छन्, ‘प्रशासकीय, वित्तीय तथा व्यवसायी संगठनमा दक्ष जनशक्ति उत्पादन गर्न यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण छ ।’
मल्लका अनुसार यो कोर्षले इतिहास, अर्थशास्त्र , संस्कृति, प्रविधि, भाषा, साहित्य, प्रशासनिक सिद्धान्त, मनोविज्ञान, शिक्षाको महत्व, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुन विज्ञान तथा अनुसन्धानलाई समेटेको छ । उनी भन्छन्, ‘यो कोर्षमा प्रशासक बनेपछि उनीहरुका लागि कुन-कुन सीपको आवश्यकता पर्छ, त्यो सबै समेटिएको छ। सोही अनुसार हामीले विद्यार्थीलाई प्राविधिक पाटोमा पनि बलियो बनाउँछौँ ।’
मल्लका अनुसार कम्प्युटर कसरी चलाउने, कागजात कसरी सुरक्षित राख्ने ? जस्ता प्राविधिक सीप पनि सिकाइन्छ । अध्ययनका क्रममा विद्यार्थीले प्रयोगात्मक सिकाइमा पनि भाग लिन पाउने भएकाले यो कोर्ष व्यवहारिक भएको मल्लको भनाइ छ ।
कोर्षमा भर्ना हुनका लागि प्लस टु वा सो सरह न्यूनतम योग्यता तोकिएको छ । क्याम्पसले लिने प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई मेरिट लिस्टका आधारमा भर्ना लिने व्यवस्था गरिएको छ । कलेजले यही फागुन ६ गतेसम्म भर्नाको अन्तिम म्याद तोकेको समेत उनले जानकारी दिए। फागुन ८ गते विहान ८ बजे प्रवेश परीक्षा हुनेछ ।
त्यसो त लोकसेवाको तयारीका लागि बजारमा ‘इन्स्टिट्युट’ हरु नभएका होइनन् । तर यस्ता ‘इन्स्टिच्युट’ को भरपर्दो नभएको विद्यार्थीबाट गुनासो सुनिन्छ। यस्ता ‘इन्स्टिच्युट’ मा तयारीका लागि समय र पैसा कति लाग्छ निश्चित हुँदैन । तिनले मनलाग्दी शुल्क लिइरहेको पाइन्छ। महिला विद्यार्थीका लागि लोक सेवालाई लक्षित गरेर पद्यमकन्याले चार वर्षे यो कार्यक्रम सुरु गरेपछि शैलाजस्तै धेरै विद्यार्थीले राहत महसुस गरेका छन् ।
क्याम्पसमा धमाधम कक्षा सुरु भयो । प्राध्यापकहरुको हौसला र उत्प्रेरणा पनि थियो विद्यार्थीका लागि। प्लस टुमा बायोलोजी विषय अध्ययन गरेकी शैलालाई सुरु-सुरुमा नेपाल र यसको व्यवस्थाबारे अध्ययन गर्न गाह्रो भएको थियो । किनकी यस कोर्षमा संघीयता, प्रदेश, स्थानीय सरकार, संवैधानिक अंगहरु तथा आयोगहरु, प्रहरी र सैनिक संगठन, व्यावसायीक संगठन, कूटनीतिक एकाइहरुबारे विस्तृत रुपमा समेटिएको छ । साथै सरकारी कार्यालयको कामकाजका सिलशिलामा प्रयोग हुने प्राविधिक पक्षकाबारेमा पनि यो कोर्ष केन्द्रित छ । तर मेहनत गर्दै जाँदा शैलाको आत्मविश्वास बढेको छ ।
पहिलो सेमेस्टरको परीक्षा दिएपछि लोकसेवा पास गर्न सकिन्छ भन्नेमा उनी ढुक्क भइसकेकी छिन् । उनी भन्छिन्, ‘पद्मकन्यामा यो कोर्ष सुरु नभएको भए मैले बीबीएस सकेपछि मात्रै लोकसेवाको तयारी गर्न पाउँथे । एकातिर समय खेर जान्थ्यो, अर्कोतिर तयारीको समय पनि पुग्दैन थियो। एकै पटक तयार गर्न पनि मुस्किल पर्थ्यो। तर यो कोर्ष अध्ययन गर्न थालेपछि यी सबै समस्या हटेको अनुभव भइरहेको छ। त्यसैले निकै उत्साहित छु ।’
शैलालाई अहिले एमबीबीएस अध्ययन गर्न नपाएकोमा कुनै पछुतो छैन। योे कोर्ष पूरा गर्न आर्थिक भार पनि ठूलो छैन। चार वर्षे कोर्ष पूरा गर्न साढे तीन लाख हाराहारीमा खर्च हुन्छ। सेमेस्टर अनुसार शुल्क तिर्ने सुविधा भएकाले परिवारले धेरै दबाब पनि महसुस गरेको छैन ।
शैलाको घरमा उनी मात्रै छैनन् बीपीएसजी अध्ययन गर्ने, उनकी नातेदार प्रिक्षा चौधरीले पनि बीपीएसजी नै रोजेकी छन्। यो कोर्षको अध्ययन सुरु गरेसँगै प्रिक्षाको पनि लक्ष्य फेरिएको छ । उनको ‘सोसल वर्क’ गर्ने यसअघिको लक्ष्य अब लोकसेवा तर्फ मोडिएको छ । दुवैजना एउटै विषय अध्ययन गरेपछि घरमा पनि छलफल गर्न सहज भएको शैला बताउँछिन्।
कोर्षमा व्यावहारिक र सैद्धान्तिक दुवै पक्ष समेटिएकोमा शैला अलि बढी सन्तुष्ट देखिन्छिन् । शैला भन्छिन्, ‘एकातिर हाम्रो ज्ञान बढिरहेको छ । त्यसमाथि पहिले नेपालको बारेमा पढ्दा ओहो ! मलाई त यस्तो कुरा पनि थाहा रहेनछ भन्ने लाग्थ्यो। अहिले सबै कुरा सिक्न सक्छु जस्तो लागिरहेको छ। अर्कोतिर लोक सेवामा छिरेपछि के-कस्तो प्राविधिक कुरा जान्नु पर्छ भन्नेबारे पनि अहिले नै अध्ययन गर्न पाउनु ठूलो कुरा हो। सरकारी कार्यालयमा व्यवहारिक लेखन हुन्छ। जुन अहिले नै हामीले लेख्न सिकिरहेका छौँ ।’
शैला, प्रिक्षा जस्तै हाल यो कोर्ष अध्ययन गरिरहेका अन्य विद्यार्थी पनि त्यत्तिकै उत्साहित छन् । उनीहरुलाई आफ्नो भविष्य सुरक्षित भएको महशुस भएको छ । ती मध्येकी एक हुन् सपना सिंह। महोत्तरी घर भइ हाल सिफलमा डेरामा परिवारसँगै बस्दै आएकी सिंहको सपना पनि शैलाको जस्तै डाक्टर बन्ने थियो। छात्रवृतिमा नाम निस्केन। सपनाको डाक्टर बन्ने सपना अधुरै रह्यो।
तर उनी निराश भइनन्। अन्य क्षेत्रमा आफूलाई योग्य साबित गर्ने अठोट लिइन् । तर के विषय पढ्ने भन्ने अन्यौल चाहिँ थियो । त्यहीबेला उनले पनि आफन्तबाट पद्मकन्यामा बीपीएसजी कार्यक्रम सुरु हुँदैछ भन्ने थाहा पाइन्। बाल्यकालदेखिनै अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा भाग लिँदै आएकी सपनामा आत्मविश्वास निकै बलियो थियो। कोर्सले त्यसलाई बढाउने र दृढ बनाएको छ। कोर्ष गरेपछि देशको कुटनीतिक क्षेत्रमा संलग्न हुने लक्ष्य बनाइसकेकी छिन् उनले । त्यही भएर होला हिजोआज कूटनीति विषयले उनलाई आकर्षित गर्न थालेको छ ।
उनी भन्छिन्, ‘हाम्राका लागि नयाँ अवसर पनि आउन थालेका छन् । सबैले अध्ययन गरेको विषय मात्रै अध्ययन गर्नुपर्छ भन्ने रहेनछ। पद्यमकन्याले यो विल्कुल नयाँ कार्यक्रम ल्याएको छ। यो मेरा लागि उपयुक्त भएको ठानेकी छु।’ सपनाले यो कोर्ष गरेमा धेरै छात्राहरुको भविष्य सुनिश्चित हुने दाबी गरिन् ।
उनी भन्छिन्, ‘म मेरा साथीहरुलाई पनि अनुरोध गर्छु कि यो कार्यक्रम हामी सबै महिला विद्यार्थीका लागि कोशेढुंगा साबित हुनेछ। यो कोर्ष गरेपछि छुट्टै लोकसेवाको तयारी गर्न पर्दैन। अर्कोतिर यो कोर्ष अन्य कोर्ष जस्तै मान्यता प्राप्त छ। एकै पटक हामीले दुई कुरा गर्न पाउँछौँ ।’
यस्तै अलास्का पौडेल पनि यही कोर्ष पढ्दै गएपछि उत्साहित भएकी छन्। यो कोर्ष पूरा गरेपछि कुनै न कुनै विधानमा सरकारी निकायमा प्रवेश गर्न सकिने आत्मविश्वसमा उनमा बढेको देखिन्छ। उनी भन्छिन्,‘ यो कोर्ष गर्दै गर्दा म सन्तुष्ट छु। भविष्य राम्रो हुन्छ भन्ने लाग्दैछ।’
पद्म कन्याले शुरु गरेको यो कोर्ष लोकसेवाका लागि मात्र नभएर अन्तर्राष्ट्रिय संघसंस्था र गैरसरकारी संस्थामा जान पनि त्यत्तिकै उपयोगी हुने विश्वास गरिएको छ । त्यसमाथि पछिल्लो समय लोक सेवाप्रति आकर्षण र विश्वास दुवै बढ्दो छ। मेहनतले भविष्य सुरक्षित हुने विश्वास यो क्षेत्रमा लाग्नेहरुले गरेको देखिन्छ।
सुरुमा सरकारले खुल्ला प्रतिस्पर्धाको मात्रै व्यवस्था गर्दा यो क्षेत्रमा पुरुषहरुको सहभागिता धेरै देखिन्थ्यो। पछिल्लो समय महिला आरक्षणको पनि व्यवस्था गरिएको छ। योसँगै लोकसेवामा महिलाको पनि आर्कषण बढ्दो छ। तर विभिन्न कारणले महिलाले सोचेजस्तो तयारी गर्ने वातावरण पाइरहेका छैनन्।
पहिले कुनै विषयमा अध्ययन सक्नु पर्ने अनि मात्रै लोकसेवाको तयारीमा जुट्नु समयका हिसावमा खर्चिलो पनि देखिन्छ। तर, पद्मकन्याले नयाँ कोर्स शुरु गरेर महिला सशक्तिकरण गर्ने उद्देश्यसहित लोकसेवासँग सम्बद्ध प्रशासक तथा कार्यकारी व्यवसायी, नीति र प्रशासकीय नेतृत्व, व्यवस्थापन र सांगठनिक विश्लेषक बन्ने सुनौलो अवसर प्रदान गरेको कार्यक्रमका संयोजक मल्ल बताउँछन्।
साथै उनले आगामी व्याचका लागि सम्बन्धीत विद्यार्थीलाई भर्ना खुलिसकेको र अघिल्लो पटकभन्दा विद्यार्थी बढ्ने विश्वास समेत व्यक्त गरे ।
पद्मकन्या क्याम्पस स्थापनाकालदेखि नै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महिला सशक्तीकरणमा केन्द्रीत नेपालको एक मात्र क्याम्पसका रुपमा चिनिँदै आएको छ। वि.स. २००८ देखि सञ्चालनमा आएको यो क्याम्पसमा प्राइभेट कार्यक्रम अन्तर्गत बीबीए, बीबीएम, बीएससी सिएसआईटी बीसीए र बीएचएम सञ्चालन गरिरहेका बेला बीपीएसजी सुरुवात गरिएको हो ।
क्याम्पस प्रमुख धनप्रसाद पण्डित भन्छन्, ‘यो कोर्ष सुरु गर्नु हाम्रा लागि गौरवको विषय हो। यो महिला सशक्तिकरणमा केन्द्रीत त छ नै, यसले महिलामा नेतृत्वको विकास गर्न पनि यसले सयोग पुर्याउँछ ।’
अध्ययनका क्रममा विद्यार्थीहरुले नियमित कक्षाका अतिरिक्त लोक सेवा, नीति निर्माण, व्यवस्थापनको क्षेत्रमा अनुभव प्राप्त विज्ञहरुसँग समेत साक्षात्कार गर्न पाउनेछन् । यस्तै विद्यार्थीले विभिन्न सेमिनारमा सहभागी हुने, सामूहिक छलफल, वादविवाद, रिपोर्ट लेखन र प्रस्तुति, सार्वजनिक भाषणलगायत सञ्चारका गतिविधिसँग पनि अभ्यस्त हुने अवसर पाउनेछन्।
यसबाट विद्यार्थीको आत्मविश्वासका साथै सम्बन्धित विषयमा ज्ञान बढ्ने विश्वास पण्डितको छ। उनी भन्छन्, ‘अहिलेको विद्यार्थीले ज्ञान बढाउन त आवश्यक छ नै, त्योसँगै उनीहरुको लेखन र प्रस्तुतिको कलामा परिमार्जन र विकास गर्न जरुरी छ। त्यसैले हामीले यो कोर्ष रोजेको छ। यसबाट विद्यार्थी लाभान्वित हुन्छन् भन्नेमा मलाइ विश्वास छ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij