२०८२ माघ १५ गते बिहिवार
आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै भएको छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन ।
सभामुखको निर्वाचनका लागि माघ ३ गते सङ्घीय संसद्का महासचिवले निर्वाचनको कार्यक्रमको सूचना प्रकाशन गर्नेछन् । माघ ४ गते सभामुखको उम्मेदवारी दर्ताको कार्यक्रम हुनेछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा उम्मेदवारी दर्ता कार्यक्रम गर्ने संसद् सचिवालयको तयारी रहेको छ।
सोही दिन उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । माघ ५ गतेको प्रतिनिधि सभा बैठकमा उम्मेदवारको प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थनमा बोल्ने कार्यक्रम हुन्छ । सभाध्यक्षले प्रस्तावित सभामुखको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
यसरी निर्णयार्थ प्रस्तुत गर्दा पहिला दर्ता भएकोलाई पहिला र पछि दर्ता भएकालाई क्रमशः प्रस्तुत गरिन्छ । पहिलो उम्मेदवारबारे निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएमा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्न नपर्ने कानुनी व्यवस्था रहेको प्रवक्ता गिरीले जानकारी दिए ।
पहिलो उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । एक जनाको मात्र उम्मेदवारी परेमा निर्विरोध घोषणा हुने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij