२०८२ माघ १५ गते बिहिवार
प्रदेशसभा सचिवालयले प्रदेश सभामुखको निर्वाचन कार्यतालिका मंगलबार सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश सभामुखको निर्वाचन पुस २८ का लागि तोकेपछि सचिवालयले कार्यतालिका सार्वजनिक गरेका हो ।
आज दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म प्रदेश सभामुखका लागि उम्मेदवारी दर्ता, ५ बजेदेखि ५:४५ बजेसम्म दाबीविरोध, ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी फिर्ता र ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ । पुस २८ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुखको निर्वाचन हुने कार्यतालिकामा भनिएको छ ।
दलीय भागबण्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले ओखलढुंगा १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतमलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईले आफ्नो दलले प्रदेशसभा सदस्य गौतमलाई सभामुखमा उम्मेदवार बनाउने तयारी गरेको बताए । उनले सभामुखमा प्रदेश सांसद गौतमलाई निर्विरोध गराउन प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल भइरहेको बताए । कांग्रेसका प्रदेश सांसद केदार कार्कीले सभामुखमा प्रदेश सांसद गौतमलाई समर्थन गर्ने अवस्था रहेको बताए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij