सोमबार दिउँसो साढे २ बजेका लागि शपथग्रहण कार्यक्रम राखिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङ्ले सोमबार २ बजे मुख्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाउने कार्यतालिका छ।
नेताहरुका अनुसार मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै विस्तारित मन्त्रिपरिषद्का सदस्यहरुलाई शपथ खुवाउने कार्यक्रम रहेको छ।
मन्त्रालय भागबण्डा र मन्त्रीको छनौट गर्न केही समय लाग्ने भएकाले एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जना मन्त्री बन्ने बताइएको छ।
एमालेबाट मन्त्री बन्नेहरुमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी रहेका छन्।
यस्तै माओवादी केन्द्रले दुर्गा प्रसाद चापागाईंको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। राप्रपाबाट भने दलका नेता भक्तिप्रसाद सिटौला सरकारमा जाने स्रोतले नेपालखबरलाई बताएको छ।
सत्ता साझेदारदलहरुबीच भएको प्रारम्भिक सहमति अनुसार सरकारको नेतृत्व गरेको एमालेले ५, माओवादी केन्द्रले ३, राप्रपाले १ मन्त्रालय राख्ने तयारी गरेको छ।
११ मन्त्रालय रहँदा एमालेले ६ माओवादीको भागमा ३ र राप्रपालाई २ दिने एमालेको तयारी रहेको बताइन्छ। हाल कायम रहेको १३ मन्त्रालयलाई ९ या ११ वटामा झार्ने तयारी रहेको बताइएको छ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारलाई समर्थन गरिसकेको हुनाले आफूहरु पनि मन्त्रीमण्डलमा सामेल हुने बताए। १ जना सांसद रहेको जसपाले भने मन्त्री पाउने नपाउने अनिश्चित छ।
हिजो मात्र प्रदेश सभामा ४० सिट संख्या रहेको एमाले संसदीय दलको नेता समेत रहेका कार्की नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा प्रदेशको मुख्यमन्त्तीमा नियुक्त भएका थिए।
प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको पनि दाबी थियो। प्रदेश १ को मुख्यमन्त्तीमा पहिलो एमाले र दोश्रो कार्याकाल माओवादीले आलोपालोमा गर्ने दलहरुबत्रीच भद्र सहमति भएको बताइएको छ। यद्यपि यो विषय बाहिर सार्वजनिक भने भएको छैन।
केन्द्रमा भएको सहमति अनुसार एमालेले मुख्यमन्त्री पाउँदा सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेको भागमा परेको छ। प्रदेश १ को सभामुख पुस २८ गते चयन हुने भएका छन्।
उपसभामुखको भने २९ गते चयन गर्ने मिति तोकिएको छ। संसद सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुने छ।
सभामुख माओवादी केन्द्रको भागमा परेको छ। माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीले दाबी गरेका छन्।