काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।
बैठकले माओवादीसँगको एकताको विषयमा पनि निर्णय गर्ने हो? पाण्डेले भने, ‘यो विषयमा पार्टीको बैठकमा छलफल भएर नै निर्णय हुने हो। त्यही पनि पार्टी एकताको विषयमा हामी नेसपा र माओवादीबीच विभिन्न तहमा छलफल जारी छ।’
उनले पार्टीभित्र अब समाजवादी धारको नेतृत्व गरेर अघि बढ्ने विषयमा छलफल भएको पनि बताए।
‘अब समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने बेला आएको छ। समाजवादी पक्षधरहरु अलग अलग हुनुभन्दा एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको समयको माग हो,’ पाण्डेले भने, ‘समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने कुरामा नेसपा र माओवादीबीच करिब–करिब सहमति जस्तै छ। त्यसैले यसमा सहमति हुँदा एकताको बाटोमा हामी जान सक्छौं।’