२०८२ भाद्र ७ गते शनिवार
भर्खरै सुर्खेतमा सम्पन्न नेपाल पत्रकार महासंघको साधारणसभाले केही पत्रकारहरूलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानले विभुषित गरेको छ । यो सम्मानले प्रेसका स्वतन्त्रता सेनानीहरूलाई सम्मान गर्नु आफैमा उनीहरूको इतिहास र वर्तमानलाई सम्मान गर्नु त हुँदै हो, भविष्यको लागि पनि उर्जाशील बनाउनु हो । तर, यस्ता सम्मानलाई सामान्यिकरण गर्दै बाँडियो भने पञ्चायतले बाँडेको ‘गोर्खा दक्षिण बाहु’कै स्तरमा पुग्नेछ । जुनकुरा यो सम्मान वितरण गर्दा पनि अन्यथा हुन सकेन । यसले महासंघ र पत्रकारिता जगत कै मान्यतालाइ धुलिसात् पार्न सक्छ ।
प्रेस, स्वतन्त्रता र सेनानीको अर्थ
यो सम्मानमा तीन वटा शब्द प्रेस, स्वतन्त्रता र सेनानी परेका छन् । यो सम्मानको अन्तर्य यसैमा छ । यी शब्दका सप्रसंग व्याख्या गरेर तदनुकुलको सम्मान गरेमात्र यसको अर्थ पूणर् हुनेछ । अन्यथा यो सम्मानको गरिमा पनि ध्वस्त हुँदै जानेछ । यसमा नेपाल पत्रकार महासंघले कुनै सम्झौता गर्नु हुन्न ।
प्रेस
प्रेस छापाखाना हो । तर, पत्रकारिता र सञ्चारसम्बन्धी कामसंग सम्बन्धित पत्रकार, पत्रपत्रिका प्रकाशन, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चार माध्यमलाई प्रेस भन्ने गरिन्छ । त्यसैले प्रेससंग स्वतन्त्रता अन्तरसम्बन्धित भएर आउँछ । स्वतन्त्रता बेगर प्रेसको कुनै अर्थ हुन्न । यसर्थ प्रेसको महत्व राज्यको चौथो अंगको रूपमा छ । राज्यका तीन अंगलाई खबरदारी गर्ने यसको मूख्य दायित्व हो । यो दायित्व र जिम्मेवारीबाट प्रेस पन्छनु हुन्न । नेपाली प्रेसको छाता संगठनले यही मुलमन्त्रमा गम्भीर ध्यान दिन जरुरी छ ।
स्वतन्त्रता
भय, नियन्त्रण, प्रलोभनबाट मुक्त भइ स्वतन्त्र रूपमा आफ्ना विचार तथा अभिव्यक्ति स्वतन्त्र रूपमा अभिव्यक्त गर्न पाउनु प्रेस स्वतन्त्रता हो । भयभित भएर सेल्फ सेन्सरसिप गरिएको पत्रकारिताले वास्तविक समाचार र बिचार पस्कन सक्दैन । राज्य नियन्त्रित वा सम्पादकीय स्वतन्त्रताविहीन पत्रकारिताको त झनै अर्थ हुन्न । कतिपय सन्दर्भमा बजारको वा कुनै समूहको प्रलोभनमा परेर गरिने पत्रकारिता झनै घातक हुन्छ ।
प्रेस स्वतन्त्रता जनताको जान्न पाउने हक, पारदर्शिता र सूचनाको हकको रूपमा रहन्छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूणर् तत्व र संरक्षक मानिन्छ । यसर्थ यो अभिव्यक्ति र जान्न पाउने दुइ किसिमको स्वतन्त्रता हो । अर्को विचार अभिव्यक्तिको स्वतन्त्रता भनेको राजनैतिक आस्था र विश्वासको दर्शन अनुसार विचार निर्माण गर्ने स्वतन्त्रता हो । यो बोल्ने, लेख्ने स्वतन्त्रतामा मात्र सिमित छैन । यस्तो विचार सँधै परिवर्तनको पक्षमा हुनुपर्छ । परिवर्तनको विपक्षमा जाने स्वतन्त्रताको कुनै गुन्जाइस हुन्न । पत्रकारिताको सिद्धान्तअनुसार ‘आवाजविहीनहरूको आवाज’ पत्रकारिता हो । आवाजविहीनहरूको आवाजको जनमत निर्माण गर्न स्वतन्त्रता आवश्यक पर्छ । यसकारण प्रेससंग स्वतन्त्रता अन्तरसम्बन्धित भयो । यथास्थिति र पश्चगमनको पक्षपोषण पत्रकारिता हुनै सक्दैन । हरदम परिवर्तनको पक्षपोषण र वकालत गर्नुेमात्र पत्रकारिता हो ।
सेनानी
सेनानी भनेको सेना शब्दबाट लिइएको हो । सेना युद्ध, शान्तिसुरक्षा आदिका लागि तैनाथ गरिएका सशस्त्र सैनिक जवानको समुदाय हो । त्यही सेनाको उच्च अधिकृतलाई सेनानी भनिन्छ । पत्रकारिताको नेतृत्व गने अर्थमा यहाँ सेनानी शब्द प्रयोग भएको हो । यस प्रकारको स्वतन्त्रताको रक्षाको निम्ति लागि पर्नेहरू नै प्रेस स्वतन्त्रताका सेनानी हुन् । तिनलाई सम्मान गर्दामात्र यस्तो सम्मानको औचित्य हुन्छ । अनुशासनहीन, आचारसंहीता उल्लंघन गरेबापत डामिएका, दुत्कारिएका पात्र प्रेस स्वतन्त्रता सेनानी हुन सक्दैनन् ।
तर यसपटक प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित सबै पत्रकारहरू परिवर्तनको पक्षपोषण गर्ने, गर्दै आएकाहरूका हुन् कि होइनन् ? मूख्य सवाल यही हो । पुरस्कार र सम्मानका लागि अनेक तिकडमबाजी गरेर पाएका हुन् या सांगठानिक वा त्यस्तै कुनै बल लगाएर पाए ? कतिपय कुरा त ओपेन सेक्रेट नै छ । यी प्रश्नहरूले जवाफ खोजि गरेका छन् । योग्यता, क्षमता, लगाव, निरन्तरता र परिवर्तनको निम्ति तिनले समय र बुद्धि विवेक खर्चे कि खर्चेनन् ? अहिलेको परिवर्तनको विपक्षमा राजतन्त्र, निरंकुशताको वकालत गर्ने पात्र प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका हुन् भने यो सम्मानको भ्रष्टिकरण त्यहिँबाट सुरु भयो । पत्रकारितालाई सत्ता र पैसाको निम्ति उपयोग गर्नेले पाएको छ भनेपनि यसको औचित्य छैन । पुरस्कार थाप्ने लत लागेर दर्जनौं पटक पुरस्कार थाप्ने दुब्र्यसनीहरूले पाएका छन् भने सम्मानकै अपमान हुनेछ । प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुन योग्यहरू नै अपमानित भएको महशुस गर्नेछन् । उही गोर्खा दक्षिण बाहु भन्दा फरक हुनेछैन ।
सम्मानितको बायोग्राफी
यस पटक पत्रकार महासंघले केहि यस्ता पत्रकारहरूलाई सम्मान गरेको छ जसले सेनानीको वास्तविक तस्विर निस्केको छ । प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित धर्मेन्द्र कणर्, इश्वरी वाग्ले, नरेन्द्रजंग पिटर र भवानी बराल यसै कोटीमा पर्छन ।
कर्ण
धमेन्द्र कणर् मुलधारको मिडियामा स्थापित नाउँ हो । सँधैका श्रमजीवी कणर्ले पत्रकारितामा उठाएको उचाइ र वैचारिक निष्ठामा कहिल्यै सम्झौता गरेनन् । यिनले पत्रकारितामा देखाएको निष्ठा सबैको निम्ति एउटा उदाहरण हो । समाचार लेखेरमात्र पत्रकार हुने होइन । पत्रकारिताको व्यवसायिकताका नाममा गरिने परिपञ्चले प्रेस स्वतन्त्रताको सम्मान जित्ने त कुरै आउँदैन । सेनानी हुने त परैको कुरा भयो । सेनामा जब सह-सेनानीको रूपमा एउटा सिपाहीँ भर्ति हुन्छ त्यहीँदेखि उसको परीक्षण सुरु हुन्छ । सेनाको त अनुशासन प्रमुख हो । पत्रकारको वैचारिक निष्ठा र दृष्टिकोण मूख्य हो
वाग्ले
इश्वरी वाग्ले जनपक्षीय पत्रकारिताका निरन्तर योद्धा हुन् । स्वरोजगारमूलक पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रताको भूमिका आजपर्यन्त वाग्लेले गरिरहेका छन् । वाग्लेले योग्यता, क्षमता र विवेकले भ्याएसम्म प्रेस स्वतन्त्रताको इमान्दार सिपाहीँको भूमिकामा आफुलाई निखारेका छन्, तैपनि आजसम्म उनलाई दिइनुपर्ने सम्मान र गरिनुपर्ने पुरस्कृतबाट बाहिर नै राखिएको थियो । उनलाई नेपाल पत्रकार महासंघले सम्झना गर्दामात्र पनि सेनानीको अर्थपूणर् सम्मान हुन्छ । कणर् र वाग्ले दुवै पत्रकारले आजका मितिसम्म लाभका पद लिएर सस्तो मनोरञ्जन गरेका पनि छैनन् । यि दुईलाई सेनानीको सम्मान दिनु उचित हो ।
पिटर
यसरी नै नरेन्द्रजंग पिटर जनपक्षीय पत्रकारितामा स्थापित नाम हो । निरन्तरतासंगै वैचारिक बहसमा पनि खरो उत्रदै आएका पिटरको सम्मान उदेकलाग्दो छँदैछैन । उनको योग्यता क्षमताले परिवर्तन कै पक्षमा सेवा गरेको छ । प्रेस स्वतन्त्रताको वकालत गरेकै आधारमा उनी यहाँसम्म आइपुगेका हुन । परिवर्तनको निम्ति, आवाजविहीनहरूको निम्ति वकालत गरिरहने उनको कलमले प्रेस स्वतन्त्रता कै पक्षपोषण गरेको छ । यसरी पिटरको सम्झना सेनानीको रूपमा गर्नु अन्यथा हुँदै होइन ।
बराल
यस्तै अर्का सम्मानित पत्रकार भवानी बरालको आफ्नै कथाव्यथा छन् । मोफसलमा रहँदा होस् वा राजधानीमा रहँदा होस् उनले वैचारिक पत्रकारिता निरन्तर गर्दै आएका छन् । विचार निर्माण कै सिलसिलामा संघीयतासम्बद्ध पुस्तक लेखन गरेर आफ्नो वैचारिक श्रेष्ठता पनि देखाइ सकेका छन् । मूलधारका भनिएका सञ्चारमाध्यममा लामो समयसम्म स्तम्भकारका रूपमा रहेका बरालको लेखन निरन्तरतामा कुनै ब्रेक लागेको छैन । यस्ता व्यक्तिहरू प्रेस स्वतन्त्रता सेनानीकै रूपमा सम्मानित भए समुदायले पनि सम्मानको अपनत्व ग्रहण गर्नेछन् । सम्मान गर्दा आम जनसमुदायले नाक खुम्च्याउनु पर्ने स्थिति पैदा भयो भने सम्मानको औचित्यमाथि प्रश्नै प्रश्न आउँछ ।
निश्कर्षमा सेनानी
सेनानी उमेर हदको कारणले पाउने सम्मान पनि हैन । पत्रकारिताको उमेर छँदा गरेको कामको मूल्याङ्कनको आधारमा गरिनु पर्छ । प्रेस स्वतन्त्रता सेनानी विगत, वर्तमानको प्रस्ट चित्र हो भने भविष्यको छाँया चित्र हो । विगत ठीक थियो तर वर्तमान प्रेस स्वतन्त्रता विरोधी, लोभी, लालची भूमिकामा रहने प्रेस सेनानी हुन योग्य होइन । हरेक जोगीले कान छेड्ने बेलामा महन्त हुने ख्वाब राखेका हुन्छन तर सबै जोगी महन्त हुन्नन् । यसरी नै पत्रकारिता लामो समय गरेकै भरमा विगतमा राम्रै गरेको तर आगतमा नकारात्मक छवि बनाएको व्यक्ति पत्रकारको प्रेस स्वतन्त्रता सेनानी हुने कुरो हैन ।
सेनामा पहिल्यै सेनानीको भर्ति हुन्छ । कतिपयको तल्लो दर्जाबाट फाइल बढुवा हुँदै सेनानी हुन्छन । तर पत्रकारितामा काम गरिसकेपछि वा काममा खरो उत्रेपछि मात्र सेनानीले विभुषित गरिने हो । पत्रकारितामा वृद्धाश्रम भन्ने हुन्न । समाजमा जेष्ठ नागरिकलाई उमेर हदमा दोसल्ला ओडाएर सम्मान गरे जस्तो गर्ने होइन । उमेर हदमा कुनै पत्रकारलाइ सेवासुविधा निवृत्तिभरण आदिबाट सम्मान गर्नु उचित हुन्छ । तर पत्रकारिता क्षेत्रको त्यो पनि ‘प्रेस स्वतन्त्रता सेनानी’ पदावलीले सम्मान गर्ने हो भने त्यसको आधिकारिक कारण, योग्यता र क्षमता जनपरीक्षणमा खरो उत्रेको हुनुपर्छ । आमसमुदायले पनि प्रेस स्वतन्त्रता सेनानीलाइ अनुमोदन गर्नु त्यत्तिकै जरुरी छ । राजनैतिक स्वतन्त्रताको आन्दोलनमा सेनानीको भूमिका हुनै पर्छ । पत्रकारिता, पत्रकार आखिर सबै विषयको मूल्याङ्कन गर्ने समुदायले हो । नेपाल पत्रकार महासंघले यो सम्मान उच्च सम्मान ठानेको हुनुपर्छ । नामैले पनि यसले दिने सन्देश उच्च छ । तर उच्च सम्मानको भागिदार व्यक्ति समुदायले पनि उच्च ठानेको हुनु पर्छ । (ताजा नेपालबाट)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij