२०८२ भाद्र २५ गते बुधवार
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको छैटौं संस्करण आयोजना हुने भएको छ।
अमेरिकास्थित वासिङ्टन डिसीमा असार ७ देखि ९ गतेसम्म आयोजना गरिने महोत्सवसका लागि विश्वभरबाट आवेदन खुला गरिएको छ।
महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म, एनिमेशनका साथै सबै विधाका फिल्महरू प्रदर्शन गरिनेछन्। नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र फिल्महरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन्।
वासिङ्टन डिसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत फिल्महरू प्रदर्शन हुनेछन्। स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्महरू यो वर्ष पनि समावेश हुने जनाइएको छ।
‘कोरोना महामारीपछि गतसाल अनलाइन र केही भौतिक रुपमा आयोजना भएको फिल्म महोत्सव अहिले भौतिक रुपमा नै आयोजना गर्न पाउँदा उत्साहित छौं। यसले सम्पूर्ण दर्शक तथा सहभागीहरूमा मनोरञ्जन र ज्ञान आदान-प्रदानको फरक अनुभूति गराउने छ,’ विज्ञप्तीमा महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भनेका छन्।
अन्तर्राष्ट्रिय फिल्मकर्मीको समितिले आवेदन परेका मध्ये उत्कृष्ट फिल्महरू प्रदर्शनका लागि छनोट गर्नेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्महरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ।
महोत्सवको अवधिमा फिल्म, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना गरिने छ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij