२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूले आइतबार सिंहदरबार घेराउ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम चलाउ सरकारको संज्ञा दिँदै विज्ञप्तिसहित अनेरास्ववियूले तत्काल सरकारी पदबाट हट्न भन्दै सिंहदरबार घेराउ गरेका हुन।
घेराउपछि अनेरास्ववियूका केन्द्रीय सह-संयोजक रञ्जित तामाङले भने, ‘देशमा अहिले कामचलाउ प्रधानमन्त्री मात्रै छन् । प्रधानमन्त्रीको कुर्सी खाली छ। केपी ओली काम चलाउ प्रधानमन्त्री भएकाले उनी आसेपासे र हनुमानहरुले घेरिएका छन् । उनी अहिले काठमाडौँको ढलभन्दा धेरै फोहोर राजनीति गर्ने एउटा दलाल हुन। त्यसकारण हामी उनलाई यो ज्ञापन पत्र विरोधस्वरुप बुझाउन आएका छौँ ।’
यसका साथै उनले राज्यको चौथो अंग मानिने मिडियालाई निरन्तर तेजोबध गर्दै भाषा शैलीमा डिक्टेट गर्ने, ९४ वर्षका वरिष्ठ अधिवक्तालाई अदालतमा तमासा देखाएको भन्ने, असंवैधानिक कदमको विरोध गर्ने सबैलाई देशद्रोही भन्ने, जिउँदो नेताहरुलाई श्रद्धाञ्जली भन्न पाइयोस भन्ने सहीदको घोर अपमान गर्ने तल्लो स्तरका शब्दहरु प्रयोग गर्दै जाँदा त्यसले सामाजिक मूल्य र सद्भावमा कस्तो असर पर्ला भन्दै प्रश्न गरे ।
जनाताको कर खाएर पार्टीको कार्यक्रममा देश दौडाहा गर्ने मन्त्री तथा सरकारी नेताहरुलाई जहाँ भेट्यो त्यही कारबाही गर्ने उनले चेतावनी दिए ।
उनले भने, ‘सरकारी तलबभत्ता र कर खाएर पार्टीको प्रचार गरेर हिड्ने मन्त्रीलाई जहाँ भेट्यो त्यही कारबाही गरौँ । सरकारी गाडीलाई निशेष गरौँ ।’ उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा जुलुस गर्दै सिंहदरबार पुगेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij